३ हजारलाई शहीद घोषणा र छुटेकाहरूको लिस्टिङ गर्दैछौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने बताएका छन् ।
शहीद प्रतिष्ठान नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजारलाई पनि छिट्टै शहीद घोषणा गर्नका लागि मन्त्रीपरिषद्बाट निर्णय भएर राजपत्रका प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताएका हुन् ।
त्यस क्रममा प्रधानमन्त्री दाहालले सरकारले अझै पनि जनयुद्धका क्रममा बलिदान गर्नेहरूलाई शहीद बनाउने काममा छुटेका भए तत्काल सम्बोधन गर्ने आश्वासन समेत दिए ।
आफूले तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरू नछुटुन् भनेर विशेष ध्यान दिएको पनि बताए । सरकारले जनयुद्धमा शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने कुरालाई उच्च प्राथमिकता दिएको प्रधानमन्त्री दाहालको भनाई थियो ।
उनले भने ‘यहाँ छुट भएका केही म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु झन्डै ३ हजार छुट भएकाको शहीद घोषणा चाहिँ फेरि क्याबिनेटबाट निर्णय भइसकेको छ । गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ । र अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढी सकेको छ । त्यसो गर्दा अर्को ३ हजार छुट भएका शहीदहरू पनि राष्ट्रिय शहीदमा घोषणा, दर्ता भई नै सकेको छ । त्यहाँ अव हामी दुविधानमा बस्नुपर्दैन । अझै केही छुट भएको छ भने हामीले त्यो छुट भएको बाँकीको पनि लिस्टिङ गर्दैछौं । त्यसलाई पनि घोषणा गरिन्छ । म सबै शहीद र बेपत्ता परिवारका सदस्यहरूलाई पनि भन्न चाहन्छु–यो निर्णय आफैँमा सामान्य निर्णय होइन । यसले हाम्रा क्रान्तिलाई सम्मानित गरेको छ । युद्धलाई सम्मानित गरेको छ । र, शहीदहरूलाई राष्ट्रिय शहीदको रुपमा सम्मानित गरेको छ । र, हामी बाँचेकाहरूको एउटा ठूलो जिम्मेवारी यो निर्णयले पूरा गराएको छ ।’
प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धमा बेपत्ता भएकाहरूको पनि योगदानलाई कदर गर्न सरकारले सक्दो पहल गरिरहेको बताए ।








