एनआरएनएले गर्यो क्रिकेट संघका पदाधिकारीलाई सम्मान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीलाई सम्मान गरेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले टी–२० विश्वकप २०२४ क्रिकेट प्रतियोगितामा छनौट भएकोमा बधाई ज्ञापन गर्दै क्यानका पदाधिकारीलाई सम्मान गरेको हो ।
क्यानका सचिव पारस खड्का, व्यवस्थापक एवं पूर्वकप्तान विनोद दास, कार्यकारी सदस्य सुदीप शर्मालगायत उपस्थित पदाधिकारीलाई एनआएरएनले सम्मान गरेको थियो । कार्यक्रममा एनआरएनए अध्यक्ष बद्री केसीले नेपाललाई चिनाउने क्यानसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए ।
उनले खेलकुदमा ठूलो लगानी आवश्यक रहेको बताए ।
नेपालमा खेलाडी बन्ने रहर भएका खेलाडी जबर्जस्ती खेलाडी बनेर आफैँ व्यवस्थापन गर्नुपर्ने बिडम्बना रहेको बताए । उनले ७० लाख नेपाली एकजुट हुने हो भने सस्टिनेबल पूर्वाधार बनाउनसक्ने बताए ।
अध्यक्ष केसीले सबै मिलेर खेल क्षेत्रको विकास र बिस्तारमा लाग्नुपर्ने बताए ।








