जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या ७९ हजार पाँच सय ९९

काठमाडौँ । जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको सङ्ख्या पुन थपिएसँगै ७९ हजार पाँच सय ९९ पुगेको छ । पछिल्लो पटक १२ हजार बढी लाभग्राही थपिएका छन् ।

पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्याङ्क पठाएपछि लाभग्राहीको सङ्ख्या ७९ हजार पाँच सय ९९ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यसअघि ६७ हजार लाभग्राही रहेकामा यही माघ ४ गतेसम्म पहिचान भएकाको सङ्ख्या थप भएको प्राधिकरणको निजी आवास तथा पुनःनिर्माण शाखाका प्रमुख प्रकाशचन्द्र अधिकारीले जानकारी दिए। प्राधिकरणले यसअघि लाभग्राही ८० हजार एक सय ५० पुग्ने अनुमान गरेकामा अहिले सोही हाराहारीमा कायम भएको उनले बताए ।

अधिकारीका अनुसार सरकारले लाभग्राहीका लागि अहिलेसम्म दुई अर्ब २६ करोड निकासा गरिसकेको छ । उनीहरुको अस्थायी आवासका लागि चार अर्ब ७५ लाख चाहिने अनुमान यसअघि नै गरिएको थियो । सो आधारमा अझै रकम आवश्यक देखिएको छ ।

केन्द्रबाट निकासा गरी पठाइएको रकममध्ये आजसम्म जिल्ला विपद् व्यवस्थापन समितिबाट स्थानीय तहको विपद् व्यवस्थापन समितिमा एक अर्ब ९० करोड गएको र स्थानीय तहबाट लाभग्राहीको खातामा एक अर्ब २६ करोड पुगिसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

उनका अनुसार हालसम्म ५० हजार लाभग्राहीको खातामा रकम पुगिसकेको छ । त्यसमध्ये २४ हजार १० लाभग्राहीको अस्थायी आवास निर्माण सम्पन्न भएको पोखरेलले बताए । उनका अनुसार अहिले १० हजार घर निर्माण जारी रहेको छ ।

बाँकी परिवारमा अनुदान सम्झौताको चरणमा रहेको छ । जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते जनधनको क्षति हुनेगरी भूकम्प गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =