गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा अगाडि बढ्यो

काठमाडौं । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले गत आवको प्रगति समीक्षासँगै चालु आवको कार्ययोजना तयारीलाई अगाडि बढाएका छन् ।
आज पोखरामा आयोजित दुवै मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा योजना कार्यान्वयन गरी पुँजीगत खर्चको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिए । उनले पूर्वाधार निर्माणको गुणस्तरमा पनि ध्यान दिन मन्त्रालय र सम्बद्ध निकायलाई आग्रह गरे ।
गत आवमा ‘जेनजी’ आन्दोलन, निर्वाचनलगायत कारणले अपेक्षाअनुसार बजेट खर्च हुन नसकेको जनाउँदै मुख्यमन्त्री पाण्डेले योजना कार्यान्वयनमा गुणस्तर र प्रभावकारितालाई ख्याल गर्नुपर्ने बताए । प्रदेश सरकारको राजश्व सङ्कलनमा सुधार आएकाले बजेट अभावका कारण विकास निर्माण प्रभावित नहुने उनको भनाइ छ ।
यातायात क्षेत्रको सेवा प्रवाह, व्यवस्थापन, सुशासन र राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउँदै नागरिकमैत्री सेवा विस्तार गर्न प्रदेश सरकारले विशेष ध्यान दिइएको मुख्यमन्त्रीले पाण्डेले बताए । विकासको गति, गुणस्तर र सुशासनप्रति प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनको भनाइ छ ।
खानेपानी र सिँचाइ नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यस क्षेत्रमा परिणाममुखी ढङ्गले काम गर्नुपर्नेमा उनले जोड दिए । ‘एक घर, एक धारा’ कार्यक्रमलाई लक्ष्यमा पुर्याउन प्रदेश सरकार लागि परेको मुख्यमन्त्री पाण्डेले बताए । कार्यक्रममा दुवै मन्त्रालयले गत आवमा हासिल गरेका उपलब्धिको समीक्षासहित चालु आवको कार्ययोजना तयारीका विषयमा मन्त्रालयका पदाधिकारीसहितले छलफल गरेका छन् ।








