ओलीको टिप्पणी– गठबन्धन सरकार तरकारी बारीको बुख्याँचा जस्तो

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निकम्मा भएको टिप्पणी गरेका छन् ।

पार्टीनिकट खेलकुद सङ्गठनले बिहीबार ललितपुरको च्यासलमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा दिएका हुन् । उनले जनताको बलमा मौजुदा सरकारविरुद्ध आन्दोलनको खाँचो रहेको औँल्याए ।

‘एक जनाले भनेका थिए– कोसँग मेरो गर्धन जोडिएको छ, घाँटी जोडिएको छ। यिनीहरूको सबैको घाँटी एकै ठाउँमा जोडिएको छ । यिनीहरूको घाँटी मात्रै होइन सिंगै शरीर जोडिएको छ,’ ओलीले भने, ‘अंग्रेजीमा भनाइ छ– बर्ड्स अफ द सेम फिगर फ्लाइ टुगेदर। यी एकै वंश, एकै नश्लका हुन् । र यी भ्रष्टाचार वंशका हुन् । यी कमिसनतन्त्रीय वंशका हुन्। यिनको गोत्र निकम्मा गोत्र हो। यिनको जात देशद्रोही हो ।’

उनले जनताको बलमा आन्दोलनमा उत्रनुपर्ने र देश बर्बाद हुनबाट जोगाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले सरकार तरकारी बारीको बुख्याँचा जस्तो भएको पनि टिप्पणी गरे । विरोधीहरू एमालेविरूद्ध एक्लै लड्ने आँट नगरेको भन्दै उनले यसमा गर्व गर्नुपर्ने बताए ।

‘हामीले गर्व गर्नुपर्छ– विरोधीहरू एक्लै लड्ने/भिड्ने आँटै गर्दैनन् । हामी मात्रै हो, एक्लै लड्छौं भन्ने । हामी लड्यौं । तर सबै भएर, ससाना अङ्कहरू जोडेर उनीहरूले सरकार बनाएका छन् । सरकार कस्तो छ भने तरकारी बारीको बुख्याँचा जस्तो छ,’ उनले टिप्पणी गर्दै भने ।

उनले मौजुदा सरकारले केही गर्न नसक्ने पनि बताए ।

‘अहिले त त्यसका टाउकामा सुगा पनि बस्छ। त्यसका टाउकामा काग पनि बस्छ । सबै बस्छ । किनभने चिनिसके– यो बुख्याँचा हो भनेर । त्यस्तो बुख्याँचा, निकम्मा सरकार छ । सरकार निकम्मा मात्रै भइदिएको भए हुन्थ्यो!,’ उनले भने ।

उनले सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षण भएको बताए । ‘कमिसनखोरी र त्यसको संरक्षण, तस्करी र त्यसको सरण, आयोजक र संरक्षक छ सरकार!,’ उनले भने ।

उनले यस स्थितिमा ‘मिसन २०८४’ भनेर पर्खन नसकिने उनले बताए । ‘देश बरबाद हुन लाग्यो भने कहाँ मिसन ०८४? ०८४ को चुनाव भनेर पर्खिएर बसेर हुन्छ ? उस्तै पर्‍यो भने यो गठबन्धन भत्काएर..!,’ उनले भने, ‘यो लोभीपापी नभत्कन सक्छन !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =