कार्टुनका लागि नयाँ जमिनको खोजी गर्दै रवि मिश्र (तस्बिरहरू)

काठमाडौँ । नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ ।

‘डिपिक्सन’ नाम दिइएको उक्त  प्रदर्शनीमा मिश्रका ३५ वटा कार्टुन राखिएका छन् । १७ वर्षदेखि कार्टुन बनाइरहेका मिश्रले हालसम्म ३ हजार भन्दा धेरै कार्टुन बनाईसकेका छन् ।

मिश्रले समाजमा आफूले देखेका दृश्य कार्टुनमा उतार्ने गरेको बताए । कार्टुनलाई समाजसँग अन्तरक्रिया गर्ने सशक्त माध्यमका रुपमा भएको बताए ।

उनले भने, ‘वर्तमानमा मैले देखेको समाजको दृश्य कोर्छु कार्टुनमा । यो प्रदर्शनी मैले देखेको समाजको चित्र हो ।’

प्रदर्शनीमा मिश्रले पछिल्लो ५ वर्षमा बनाएका कार्टुन राखिएका छन् । पछिल्लो ५ वर्षका सामाजिक, राजनीतिक घटनाक्रममाथि व्यङ्ग्य कसिएका कार्टुन प्रदर्शनीमा राखिएका छन् ।

कार्टुनलाई एकतर्फी सञ्चार मात्र नभई संवादका रुपमा स्थापित गर्न कार्टुन प्रदर्शनी गरिएको मिश्रले बताए । उनी भन्छन्, ‘कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद पनि बनाउन प्रदर्शनी आवश्यक हुँदो रहेछ । तपाईँसँग पत्रिकाको माध्यमबाट एकोहोरो संवाद गरिरहेको म यो प्रदर्शनी मार्फत दोहोरो संवाद गर्न आईपुगेको छु ।’

‘कर्नर किक’ शीर्षकमा मिश्रका कार्टुन नयाँ पत्रिकामा प्रकाशित हुन्छन् । कार्टुनलाई अखबारका पन्नाबाट प्रदर्शनीसम्म ल्याईपुर्याएका मिश्रले कार्टुनका लागि नयाँ जमिनको खोजीको सुरुवात गरेका छन् ।

‘यो प्रदर्शनी कार्टुनका लागि नयाँ जमिनको खोजी पनि हो । अखबारका कोमल र ग्यालरीको भित्ता भन्दा पर पनि कार्टुनलाई पुच्याउने रहर हो । कार्टुनलाई थप पहुँच योग्य र सान्दर्भिक बनाउने प्रयत्न हो,’ मिश्रले भने ।

मिश्र कार्टुनिष्ट क्लब अफ नेपालका महासचिव समेत हुन् ।

हेर्नूहोस् थप तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *