पाँच खेलाडीसहित पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाली खेलकुदको प्रतिष्ठित स्पोट्स अवार्ड एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष प्रदान गर्दै आएको अवार्डको २० औं संस्करणमा पिपल्स च्वाइस विधाका पाँच मनोनयनको नाम सार्वजनिक भएको हो ।

मञ्चले बुधवार एक कार्यक्रम आयोजना गर्दै दुई पुरुष र तीन महिला खेलाडीलाई मनोनयनमा समावेश गरेको छ । आगामी माघ २८ गते हुने अवार्डको पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् ।

यसअघि माघ १२ गते तय भए पनि प्राविधिक कारणले कार्यक्रम केही दिन सारिएको मञ्चले उल्लेख गरेको छ । खेल क्षेत्रमा पाएका सफलता र लोकप्रियताको आधारमा यस विधामा खेलाडीलाई मनोनयन गरिने गरिन्छ ।

फुटबलका अनन्तले घरेलु फुटबलमा आफ्नो नेतृत्वमा लगातार सफलता दिलाएका छन् । यस क्रममा उनले आफ्नो कप्तानीमा चर्च ब्वाइज युनाइटेडलाई ‘ए डिभिजन लिगको डेब्यु सिजनमै च्याम्पियन बनाउनुकै साथै यसै सिजनको नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीलाई उपाधि पनि दिलाएका थिए ।

करातेका विप्लवलालले इण्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराते च्याम्पियनसिपमा रजत पदकका साथै चीनको हाङचउमा सम्पन्न १९ औं एसियाली खेलकुदमा दुई बाउट जित्न सफल भएका थिए ।

काभा महिला भलिबल च्यालेन्ज कपमा कांस्य विजेता निरुता केशवलाल स्मृति महिला भलिबल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी हुन् । शारीरिक सुगठनकी रजनी श्रेष्ठ भने नेपालमै सम्पन्न एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा ५५ केजीमाथि तौलसमूहकी स्वर्ण पदक विजेता हुन् ।

शारीरिक सुगठन खेल पुरुष खेलाडीका लागि मात्र हो भन्ने मान्यतालाई चिर्दै रजनीले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल भएकी छन् । टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ डबल्समा राष्ट्रिय च्याम्पियन र स्ट्याग ग्लोबल च्याम्पियन्स लिगकी विजेता हुन् । यस विधाको विजेता इसेवा भोटिङ, मञ्चका सदस्यको मत, सामाजिक सञ्जाल (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्ने) बाट मत र २७ खेलका प्रमुख प्रशिक्षकको मतका आधारमा हुनेछ ।

ईसेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जालको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटीमा आबद्ध २७ राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२.५ प्रतिशत हुनेछ । भोटिङ कार्यक्रमको अघिल्लो दिन बन्द हुनेछ । भोटिङ पार्टनरका रूपमा विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी ई–सेवासँग बुधवार नै एक कार्यक्रमबीच सम्झौता भएको छ । ईसेवाका तर्पmबाट चिफ बिजनेस अफिसर आशिष गौतम र मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सो अवसरमा गौतमले मनोनयनमा परेका पाँचै जनालाई इसेवा केयर प्याकेज प्रदान गरिने बताए । त्यसमा १ लाख रुपैयाँ बराबरको स्वास्थ्य प्याकेज रहेको छ । मञ्चले ईसेवासँग लगातार चौथो वर्षको सहकार्य हो । मञ्चका अध्यक्ष सुबेदीले इसेवालगायत अन्य प्रायोजकलाई धन्यवाद दिँदै अवार्डका अन्य चार विधामा पनि केही दिनमा नै सार्वजनिक गरिने बताए । पल्सर स्पोर्ट्स अवार्ड २०७९ को अन्य विधामा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट युवा खेलाडी र पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एशियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन् ।

यस वर्ष पनि एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा।लि।को बजाज पल्सर मोटरसाइकल रहेको छ । यस पटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेताले पाँच वटा बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल छन् ।

अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । अन्य सह–प्रायोजक तथा सहयोगीमा ई–सेवा, सूर्य नेपाल प्रालि, सुबिसु, प्लाजा ग्रुप अफ होटल, रोयल सिंगी होटल, रुट्स फेसन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *