सन्दीपको पत्र– म समाप्त भएको छैन, न्यायको पर्खाइमा छु (पूर्णपाठ)

सन्दीपले क्यानलाई पठाएको पत्रमा के छ ?

काठमाडौं । सन्दीप लामिछानेले क्यानलाई पठाएकोे पत्र सार्वजनिक भएको छ । बलात्कार मुद्धामा दोषी ठहर भएका उनी क्रिकेटबाट अलग भइसकेका छन् । त्यसअघि उनले क्यानलाई लामोपत्र लेखेका थिए ।

सन्दीपले क्यानलाई पठाएको पत्रमा अदालतले सुनाएको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन् । तर, आफू षडयन्त्रमूलक योजना तथा मिडिया ट्रायलको शिकार भएको उनको भनाइ छ ।

क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गरेको पत्रमा सन्दीपले भनेका छन्, ‘म आफ्नो जीवन, करियर र भविष्यको अग्नीपरीक्षामा छु । मलाई एउटा अपराधिक षड्यन्त्रमा शूली चढाइएको छ ।’

यस्तो छ सन्दीपले लेखेको पत्र–
मिति २०८० पुस २५

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दज्यू

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काज्यू

क्यान एक्सको समिति

विषयः राष्ट्रिय क्रिकेट टीम त्यागेको सम्बन्धमा

आदरणीय सरहरू,

सर्वप्रथम त म चतुरबहादुर चन्द सर र पारस दाइलाई क्यानको अध्यक्ष र सचिवमा निर्वाचित हुनुभएकोमा बधाइ दिन चाहन्छु । म तपाईंहरु दुवैजनाको सफल कार्यकालको कामना गर्दछु । तपाईंहरुको कार्यकालमा र त्यसपश्चात पनि नेपाली क्रिकेट अर्को स्तरमा पुग्नेमा विश्वस्त छु ।

मैले क्रिकेट खेल्न सिकेदेखि नेपालको जर्सीमा खेल्ने मेरो ठूलो सपना थियो । मेरो कडा परिश्रम, खेलप्रतिको समर्पण, मेरो परिवार र विश्वभर छरिएर रहनुभएका मेरा सम्पुर्ण दाजुभाई–दिदीबहिनीहरुको साथले, म राष्ट्रिय क्रिकेट टोलीको हिस्सा बन्न सफल भएँ । मलाई यौन दुराचारको गलत आरोप नलागिञ्जेलसम्म कप्तान भएर टीमको नेतृत्व गर्ने मौका समेत पाएँ । मैले के योगदान दिएको छु, त्यो कुरा म दोहो¥याउन चाहन्न । मेरो खेलजीवन खुला अनि सार्वजनिक छ । साथै, सबैले सदैव समिक्षा गर्नका लागि उपलब्ध पनि छ ।

तपाईँहरूलाई थाहै छ, अहिले म मेरो जिन्दगीको कठिन समयबाट गुज्रिरहेको छु । आफ्नो जीवन, करियर र भविष्यको अग्नीपरीक्षामा छु । मलाई एउटा अपराधिक षड्यन्त्रको शूलीमा चढाइएको छ । मैले अनुसन्धान र न्यायिक प्रक्रियाको हरेक चरणमा साथ दिएँ । अन्तमा, काठमाडौं जिल्ला अदालतले मलाई दोषी ठहर्यायो । मैले सँधै अदालतको स्वतन्त्रता र निष्पक्षतामा विश्वास गरेको छु । अदालतले मलाई सुनाएको फैसला वास्तविकताभन्दा टाढा भए तापनि अदालतप्रतिको मेरो विश्वास भने अपरिवर्तित र झनै बलियो रहनेछ ।

ममाथि गरिएको फैसला षड्यन्त्र, क्रोध, डिजाइन र एकमात्र बयानमा आधारित छ जस्तो लाग्छ । एकातर्फ म मिडियाको ट्रायल र डिप्रेसनबाट गुज्रिरहेको छु भने अर्कातर्फ उत्तिकै बलियो र न्यायको आशामा छु ।

आदरणीय सरहरू,

चलिरहेको मुद्दा र जमानतको बाबजुद पनि मैले आफ्नो सम्पुर्ण ध्यान देश र क्रिकेट टोलीमा केन्द्रित गर्ने प्रयास गरेँ । उत्कृष्ट खेल खेल्न सक्षम पनि रहेँ । मलाई गर्व छ कि म जस्तोसुकै परिस्थितिबाट गुज्रिँदा पनि देशलाई मेरो आवश्यकता परेको समय म क्रिकेट टोलीको हिस्सा बन्न पाएँ । गत वर्ष टीयू मैदानमा हजारौंको संख्यामा क्रिकेटका सच्चा प्रशंसकहरू देखेर म खुसी भएँ ।

बारम्बार आफुले हरेक कुरामाथिको आशा र भरोसा गुमाएको महसुस गरे पनि, म आफूलाई सबै प्रकारका डिप्रेसन, चिन्ता र स्वास्थ्य समस्याबाट टाढा राखेर अन्याय र षड्यन्त्रविरुद्ध लड्न आफैंलाई पुनःजागृत गर्दैछु । मैले एकदिन न्याय पाउनेछु भन्ने गहिरो विश्वास छ । जसले मलाई जेलभित्र पुर्‍याउने योजना बुनेका छन् उनीहरूले एकदिन कानूनबाट नभए पनि भगवानबाट परिणाम भोग्नेछन भन्नेमा पनि म विश्वस्त छु ।

म ती मिडियाहरुलाई पनि धन्यवाद दिन्छु जसले मलाई अदालतले दोषी ठहर्‍याउनुअघि नै ममाथि फैसला सुनाए र ‘सुन्दर’ कथाहरू बुनेर अदालतलाई दबाबमा राखे । यस्तो षड्यन्त्रको म पहिलो र अन्तिम शिकार नहुन सक्छु । यो जोसुकैलाई जुनसुकै र जस्तोसुकै बेलामा हुन सक्छ । गलतलाई साथ दिनेले एकदिन गलतकै सामना गर्नुपर्नेछ । उनीहरूलाई भगवान्को आशीर्वाद रहोस् ।

आदरणीय सरहरू,

म तपाईंहरू र क्यानले दिएको साथका निम्ति सदैव कृतज्ञता व्यक्त गर्दछु । मलाई थाहा छ म निर्दोष छु र मलाई निर्दोष रहने अधिकार छ । देशको कानून र हाम्रो न्याय प्रणालीप्रति मेरो गहिरो सम्मान छ । फैसला स्वीकार गर्नुबाहेक मसँग अरु विकल्प छैन । तसर्थ, म अदालतबाट निर्दोष साबित नभएसम्म राष्ट्रिय क्रिकेट टोलीमा क्यानले दिएको जर्सी लगाएर नखेल्ने निर्णय गरेको छु । म यसरी पछि हट्नु पछाडिको नियति क्यानले अवश्य बुझेको छ । अहिले म गम्भीर आर्थिक संकटमा परेकाले गर्दा क्यानलाई मेरो बाँकी भुक्तानीहरू पनि जारी गरिदिन अनुरोध गर्दछु ।

अन्त्यमा, क्रिकेटका मेरा साथीहरूले राष्ट्रिय टीममा मेरो कमी महसुस गर्ने छैनन्, आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्नेछन् र नेपाली टीमलाई माथि उठाउन कुनै कसर छाड्ने छैनन् भन्नेमा म विश्वस्त छु । हामीले टोलीलाई यो स्तरमा पु¥याएका छौं, तर अझै धेरै माथि पुर्‍याउने बाँकी छ । हामीले जित्नुपर्छ । मात्र जित्नुपर्छ र इतिहास रच्नुपर्छ । मलाई थाहा छैन म कहाँ हुनेछु, तर म जहाँ पनि हुनेछु क्रिकेट र मेरा सबै साथीहरूको उत्कृष्ट प्रदर्शनलाई नजिकबाट नियालिरहने छु । क्रिकेट खेलाडी र क्रिकेट प्रशंसक दुवै रूपमा म आफुलाई कहिल्यै क्रिकेटबाट टाढा सोच्न सक्दिनँ ।

सबैभन्दा कठिन समयमा मलाई समर्थन र संरक्षण गर्नु भएकोमा म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु । यो चरणसम्म मलाई साथ दिनुहुने र मलाई बलियो बनाउनुहुने तपाईँहरू, मेरा प्रिय फ्यानहरू र क्रिकेटप्रेमीहरूप्रति म ऋणी छु । अहिले मेरो जीवन, करियर र सम्बन्धहरूमा अन्धकार छाएको अवस्था छ । तर, मेरो उज्यालो दिन आउनेछ भन्नेमा म पक्का छु । एकदिन सबै भित्री वास्तविकता र षड्यन्त्र बाहिरिनेछ भन्नेमा पनि म ढुक्क छु ।

म समाप्त भएको, हराएको र त्यागिएको छैन । म सबै प्रकारका निराशा, चिन्ता र डिप्रेसनबाट बाहिरिने प्रयास गर्दैछु । सम्माननीय अदालतबाट छिट्टै न्यायको पर्खाइमा छु र मेरो अन्तिम साससम्म न्याय खोज्नेछु ।

आफ्नो खेलाडीको संरक्षण र प्रतिरक्षा गर्न क्यान पनि समानरुपले बलियो रहनेमा म विश्वस्त छु । मेरा कारण मेरो कानूनी टीमलगायत उहाँहरूको परिवार र पेशामा समेत विभिन्न आरोपहरू लागे । उहाँहरू सबैको सहिष्णुताप्रति म हार्दिक आभार प्रकट गर्दछु । म मेरो कानूनी टीमको समर्थन र परामर्शबाट प्रेरित र उत्प्रेरित छु । कानूनको अदालतमा मलाई समर्थन र रक्षा गर्नुभएकोमा तपाईँहरूलाई धन्यवाद ।

सन्दीप लामिछाने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =