पोखरामा एक वर्षअघि आजकै दिन भएको थियो ‘विमान दुर्घटना’मा ठूलो मानवीय क्षति

काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनाबाट ठूलो मानवीय क्षति भएको वर्ष पूरा भएको छ । अघिल्लो वर्ष आजकै दिन अर्थात् माघ १ गते काठमाडौं विमानस्थलबाट १० बजेर ३२ मिनेटमा ४ चालक दलसहित ६८ यात्रु बोकेर पोखरा उडेको यती एयरलाइन्सको एटीआर दुर्घटनामा परेको १ वर्ष पुगेको हो ।
दुर्घटनामा ४ चालक दलका सदस्य, विदेशी नागरिकसहित ७२ जनाको ज्यान गएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा त्यो दिनको तेस्रो उडान भरिरहेको पाइलट अञ्जु खतिवडा र प्रशिक्षक पाइलट कमल केसी थिए । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाइसकेको छ ।
पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको छ । पोखरामा गत वर्ष माघ १ गते विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए । विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको आयोगको निष्कर्ष छ ।








