कोशीको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्वाचित

काठमाडौं । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्वरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरिन् ।
सभामुखका लागि विष्टको मात्र उम्मेदवारी परेको थियो ।
उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता तथा भक्तिप्रसाद सिटौला र प्रेमराज थाम्सुहाङ समर्थक रहेका थिए ।
गत साउन १६ गते बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो ।
आज बिहान बसेको कार्यव्यवस्था समितिको बैठकले आजैसकिने गरी सभामुखको निर्वाचन कार्यक्रम तालिका प्रकाशित गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयको आधारमा बिहान १० बजे बसेको प्रदेश सभा बैठकले निर्वाचनसम्बन्धी तालिका प्रकाशित गर्ने प्रस्ताव पारित गरेको हो ।
सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय गरेपछि एमालेले पनि विष्टलाई समर्थन गरेको हो ।
राप्रपाले समानुपातिक सांसद विष्टलाई सभामुख बनाएको हो ।








