ईश्वर पोखरेलको आरोप–सरकारले स्वाधीनतामा आँच पुग्नेगरी भारतसँग विद्युत् खरिद सम्झौता गर्यो

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नेपालको स्वाधीनतामा आँच आउने गरी भारतसँग विद्युत् खरिद सम्झौता गरेको आरोप लगाएका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा सरकारले गरेको विद्युत् खरिद सम्झौतामा नेपालको स्वदीनतामाथि आँच आउने खालको प्रावधान रहेको उनको जिकिर थियो ।

शनिवार पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भारतीय विदेश मन्त्रीसँगको छलफलबारे सरकारले आफ्नो पार्टीसँग छलफल समेत नगरेको भन्दै आपत्ति जनाए ।

उनले सत्तारुढ गठबन्धनले मुलुकका स्वाधीनता र स्वतन्त्रतामा मुद्दालाई धुमिल बनाउने काम गरेको भन्दै त्यसलाई चिर्नका लागि राष्ट्रिय शक्तिहरु एकताबद्ध हुनुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तारुढ गठबन्धनले सामाजिक सद्भावमाथि आँच पुर्याउने काम गरिरहेका दाबी गर्दै त्यसलाई जोगाउनका लागि पनि सबैलाई एमालेमा गोलबन्द हुन पनि अनुरोध गरे ।

उनले भने ‘मुलुकको भूराजनीतिक संवेदनशीलताका कारणले हामीहरू धेरै किसिमका सङ्कटहरू झेल्नका लागि अभिसप्त बन्दैछौं । यसलाई चिर्नका लागि राष्ट्रिय शक्तिहरूको एकताबद्ध हुनुपर्ने आवश्यकता छ । राष्ट्रिय शक्तिहरु एकताबद्ध यो जियोपोलिटिकल सेन्सेटिभीटीबाट क्रियट भएको सिर्जित समस्यासित हामी सुध्न सक्छौँ । र, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र अखण्डताको रक्षा गर्न सक्छौँ । यो राष्ट्रिय अभिभारालाई पूरा गर्ने काममा नेकपा एमालेको एउटा सशक्त, प्रभावकारी जनसङ्गठनको रुपमा रहेको जनसांस्कृतिक महासंघले प्रभावकारी भूमिका खेलोस भन्ने कुरा म राख्न चाहन्छु । आज राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका मुद्दाहरू धुमिल बनाइँदै छ । त्यसका तमाम दृष्टान्तहरू छन । अब गर्दागर्दा अहिले हालसालै एउटा छिमेकी देशको परराष्ट्रमन्त्री आउँदाखेरि गरिएको सहमति, सम्झौताहरू नेपालका कुनैपनि दल, प्रतिपक्ष दलसँग सल्लाह, विमर्श केही छैन । कुनै जानकारी छैन । गोप्य ढंगले र षड्यन्त्रपूर्ण ढंगले वास्तवमा नेपालको स्वाधीनतामा आँच पुग्ने हिसाबका कतिपय विषयहरू सम्झौता गर्ने नाममा गरिएका छन । यसलाई नेकपा एमालेका अत्यन्तै गम्भीर रुपमा लिएको छ । हिजो त्यो लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो जो अतिक्रमित भूमि हो । त्यो अतिक्रमित भूमिलाई अब हामीले फिर्ता लिनुपर्छ भनेर सिंगै देशभरि शक्तिहरुलाई गोलबन्ध गरेर एमालेले प्रयत्न ग¥यो । र संविधानलाई समेत संशोधन गरेर अगाडि बढ्न चाह्यो । र, अव कूटनीतिक पहल र प्रयत्नबाट यसलाई हामीले अगाडि बढाउनु पर्छ भन्ने संकल्प ग¥यो । तर आज ती चिजहरूलाई धुमिक बर्नाइदैछ । सामाजिक सद्भाव अभिवृद्धि गर्नु पर्छ । यो सामाजिक सद्भावको जगमा हाम्रो राष्ट्रिय एकता टिकेको छ । सामाजिक सदभाव खलबलियो भने हाम्रो राष्ट्रिय एकता पनि कमजोर हुन पुग्छ । हाम्रो स्वाधीनतामाथि आँच पुग्नसक्छ भन्ने मान्यता एमालेले राखेको हो । अहिले त्यसैमाथि आँच पुर्याउने कोसिस गरिँदैछ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको समृद्धिको लागि केपी ओली नेतृत्वको सरकारले अघि बढाएका महत्वपूर्ण विकास आयोजनाहरूलाई वर्तमान सरकारले अघि बढ्न नदिएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seven =