म काँग्रेस भित्र कुनै तरंग ल्याउने पक्षमा छैन : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ काँग्रेस भित्र आफूले चलखेल गर्न नचाहेको बताएका छन् ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सत्तारुढ नेपाली काँग्रेसले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले काँग्रेस भित्र कुनै राजनीतिक तरंग ल्याउने इच्छा आफूमा नभएको टिप्पणी गरेका हुन् ।
अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट गरेको काँग्रेसको तलाउमा एउटा ढुंगा फुत्त फाली दिएर कुनै तरंग ल्याउने इच्छा नभएको ओलीको जिकिर थियो ।
अध्यक्ष ओलीले काँग्रेस सत्ताको अमनचैनमा रहेकाले त्यसमा खलल पार्न पनि आफूलाई मन नलागेको बताए । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशलाई आवश्यक नभएको ठूल्ठूला भ्यु टावर बनाएको भन्ने अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले काँग्रेसको नीति एकतले घर मात्रै बनाउने हो ? भनी प्रश्न समेत गरे ।
उनले भने ‘अहिलेका राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको नेपाली काँग्रेसको तलाउमा मैले एउटा ढुंगा फुत्त फाली दिएर कुनै तरंग ल्याउने मेरो इच्छा छैन । त्यसकारण म त्यतापट्टी बिलकुलै जान चाहन्न । कुनै अमनचैनमा खलल पार्न पनि चाहन्न । त्यस सीमा भित्र मात्रै म बोल्छु । विश्वप्रकाशजीले अलिकति अग्ला घर किन बनाईस् ? कलकत्ता जान गंगाको बाटो किन भनिस्, ट्रकने कुदाउनुपर्ने ठाउँमा पाइपलाइन अमलेखगंजमा किन ल्याईस् ? टयांकर चलाउनुपर्ने ठाउँमा त्यो काम किन गरिस् ? बयलगाडा चलाइराखेका थिए, हुलाकी राजमार्ग किन बनाईस् ? त्यत्रो साँढे ८ लाख पुनर्निमित घरहरू त्यति छोटो अवधिमा बनाएर पीडितहरूलाई किन हस्तान्तरण गरिस् ? ठूला कुरा गर्ने । उहाँले आफ्नो प्रचलित शैलीमा ललकार्नु भयो । त्यसको पनि म जवाफ दिन्न । म त्यतापट्टी पनि जान चाहन्न । र, म कुनै विवादास्पद कुरा गर्न पनि आवश्यक ठान्दिन । यत्ति हो यो देश कहिलेकाहीँ खतरा आउँछ कि भनेर झस्किन्थेँ ।’
अध्यक्ष ओलीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जिम्मेवार रहेको बताए । मन्त्री ज्वाला पुगेपछि भीड उत्तेजित हुँदा प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान गएको ओलीको भनाई थियो ।
उनले भने ‘मान्छे मारिए किन ? मन्त्री त्यहाँ हुलमा गाडी लिएर किन जानु परेको ? नगई नहुने त्यहाँ के पर्यो ? हुलमा गएर निहुँ खोजेर उत्तेजित बनाएर गोली चलाएर मान्छे मारिएको छ । यो सहज र सजिलो कुरा हो ?’
अध्यक्ष ओलीले आफनो पार्टीले राष्ट्रियताको प्रश्न, मुलुकको सुशासन, समृद्धि र विकासको प्रश्नमा राजनीतिक दलहरूसँग मेलमिलाप गरेर अघि बढ्न चाहेको दोहोर्याए ।








