भीड देखेपछि मन्त्रीज्यू किन रोकिनु भएन, आश्चर्य लागेको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले घटनामा इपीएस कार्यालय प्रमुखको भुमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको स्वीकार गरे । उनले गृह मन्त्रालय आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला सोही बाटो भएर आउनुले घटना थप असामान्य बनेको बताए । मन्त्री ज्वालाले आन्दोलनकारीहरुसँग सवाल जवाफ गर्नुभएको, त्यसपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको अवस्था प्रारम्भिक अध्ययनबाट निकालिएको उनको भनाई छ ।
गृहमन्त्री श्रेष्ठले भने, ‘त्यहाँ आवेदन हामीले पनि पाउनुपर्छ भनेर प्रदर्शन गर्ने, माग राख्नेहरु भइसकेपछि स्थिति के छ भनेर हाम्रो गृह मन्त्रालयको शान्ति सुरक्षा शाखाको प्रमुखले इपीएस कार्यालयको कार्यालय प्रमुखलाई त्यो दिन प्रारम्भ बिहानमा बोलाएर स्थितिको बारेमा के छ बताउनुस् भनेर भनेको थियो । कसरी हल गर्ने सोच्नुभएको छ भन्दा केही छैन, तीन बजेसम्म बस्छन्, जान्छन् भनेर हल्का जवाफ दिनुभएको रिपोर्ट छ । हामीले बिहान नै बोलाएका थियौँ । त्यो पनि हामीलाई जवाफ उपयुक्त लागेको छैन । त्यसपछि मन्त्रीज्युको गाडी त्यहीँ बालकुमारी नजिकै पार्टीको बैठक रहेछ, त्यो बैठकबाट मन्त्रालय जान्छु भनेर निस्किनुभएछ, त्यही बाटोबाट आउनुभएछ । प्रारम्भिक निस्कर्ष के हो भने त्यो बाटोबाट त्यस्तो बेलामा मन्त्रीज्यु किन आउनुभयो होला ? हाम्रो सुरक्षाकर्मीहरु आर्मीको बडिगार्ड, पिएसओ छ, त्यसका बाबजुद उहाँ त्यो बाटोबाट किन आउनुभयो होला । किनभने सामान्यतया पिएसओले बाटो चेक गर्छ, रुट क्लियर छ की छैन भनेर । तर उहाँ आर्मीको सेक्युरिटी गार्ड र नेपाल प्रहरीको पिएसओसहित त्यो बाटो जानुभयो, त्यसकारणले हाम्रो भनाइ उहाँहरुले किन रोक्नुभएन होला । सूचना किन दिनुभएन होला । त्यसले घटनालाई अर्को मोडतिर लैजान क्याटलिस्टको भुमिका खेलेको छ । त्यो भन्दाअघि अलिअलि लाठि चार्ज गरेको छ । मन्त्रीज्युको गाडी आइसकेपछि मन्त्रीज्यु बाहिर निस्किएर सवालजवाफतिर पनि लाग्नुभएछ । त्यसपछि त्यो भएन भनेपछि धकेलाधेल भएको भिडियोमा देखिन्छ । त्यसपछि मन्त्रीज्युलाई नेपाल आर्मीको बडिगार्डले लिएर जानुभयो र बैठक भएको ठाउँमा पुग्नुभयो । मन्त्रीको गाडी घेराबन्दीमा परेको भनेपछि फिल्डको कमाण्डरहरु त्यो दिशातिर जान खोजे, त्यही क्रममा गोली प्रहार भएको देखिन्छ । एक जनाको गोलीद्वारा घटनास्थलमा लडेपछि पाटन लगेको देखिन्छ र अर्को त्यहीँ निलडाम देखिन्छ, ग्यास वा अरु हतियारले लागेको के हो छानबिन समितिले निस्क्र्ष निकाल्नेछ, फायरिङपछि मात्रै गाडी जलेको देखिन्छ ।’
उनले वास्तविक अवस्था पत्ता लगाउनका लागि तीन सदस्यीय आयोग गठन गरेको बताए । बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले ललितपुर महानगरपालिका ८ बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन भएको छ ।








