पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भीर गृहकार्यमा छौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भीर गृहकार्यमा रहेको बताएका छन् ।

मंगलवार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पुँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार भएपनि अपेक्षित सुधार हुन नसक्दा चिन्तित रहेको बताएका हुन् ।

उनले यसको सुधारका लागि गम्भीर गृहकार्यमा रहेको बताए । उनले व्यापार घाटामा पनि कमी आएको बताए । उनले यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्ष भन्दा २.७ प्रतिशतले कम भएको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले उपभोक्ता मूल्य वृद्धिदरलाई आम जनताले महसुस गर्नेगरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताए । उनले बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको ब्याजदर एकल अंकमा पुगेको र ऋणको ब्याजदर पनि घटेको बताए ।

उनले भने ‘यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्ष भन्दा २.७ प्रतिशतले कम भएको छ । यो उपलब्धि हो । तर यसमा सन्तुष्ट भएर राष्ट्र बन्दैन । उपभोक्ता मूल्य वृद्धिदरलाई आम जनताले महसुस गर्नेगरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब हाम्रो प्राथमिकतामा छ । बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अंकमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको छ । यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ । भुक्तानी सन्तुलन झन्डै १५० अर्ब रुपैयाँले सकारात्मक रहनु, विगत कयौँ वर्षदेखि घाटामा रहेका चालु खाता समेत नाफामा रहनु सरकारको अर्को गन्न सकिने उपलब्धि हो । पुँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा हामी चिन्तित छौँ । र सुधारका लागि गम्भीर गृहकार्यमा छौँ । व्यापार घाटामा कमी आएको छ नर निर्यात नबढीकन आयात मात्र घटेर कम भएको व्यापार घाटा दिगो हुँदैन भन्ने वास्तविकता म यहाँहरूलाई लुकाउन चाहन्न । आन्तरिक उत्पादनसँगै निर्यात पनि बढाउने गरी उत्पादन परिमाण बढाउन आवश्यक पहल हामी लिनेछौँ । विप्रेषण आप्रवाहमा २६ प्रतिशतले वृद्धि भएको छ । अब हाम्रो ध्यान विप्रेषणसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित हुनेछ ।’

प्रधानमन्त्री दाहालले सबै आर्थिक र कूटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि आह्वान गरे । उनले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी गरिरहेको पनि जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 3 =