प्रधानमन्त्रीको घोषणा : अब सरकारको कार्यशैली बदलिने छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सरकारको कार्यशैली बदलिने घोषणा गरेका छन् ।
सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्धारित र अपरिहार्य बाहेक कुनै पनि कार्यक्रममा नजाने बताएका हुन् ।
उनले भने ‘केही पूर्व निर्धारित र अपरिहार्य बाहेक म बाहिरका कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्नेछु ।’
उनले निष्कर्षमा सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानबिन्दु हुने पनि स्पष्ट गरे ।
उनले सरकार असफल नभएको तर उनको हुटहुटीअनुसारको परिणाम पनि नआएको बताए । उनले बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्ता भएको बताए ।
उनले देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा भएको बताए । उनले उहि चिन्ता र आत्मसमीक्षाका साथ अब सरकारको कार्यशैली बदलिने घोषणा गरे ।








