गठबन्धन कायमै रहे एमालेको हुनसक्छ खाली हात !

काठमाडौं । आगामी फागुन २० गते राष्ट्रियसभाबाट बिदा हुने सांसदमा सबैभन्दा धेरै एमालेका छन् । २० जना सांसद बिदा हुँदा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित एमालेका नौ जना सांसद बिदा हुने भएका हुन् ।
एमालेपछि कांग्रेसका चार, माओवादी केन्द्रका तीन, नेकपा एकीकृत समाजवादीका तीन, र जसपाका एकजना सांसद छन् । उनीहरू बिदा हुनुअगावै माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ । १९ जना निर्वाचित हुनेछन् भने एकजना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।
सातवटै प्रदेशबाट सातजना, अन्य सात महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय तीन, दलित दुई र सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एकसहित २० जना राष्ट्रियसभा सदस्य चुनिनेछन् । जसमा सबैभन्दा बढी बागमती प्रदेशमा चारजना निर्वाचित हुनेछन् । गण्डकीमा निर्वाचित हुने तीन, सुदूरपश्चिममा पनि तीन, लुम्बिनी, कोशी र मधेशमा दुईरदुईजना निर्वाचित हुनेछन् । तीनवटै प्रदेशमा महिला र अन्यबाट एकरएकजना चुनिएर आउनेछन् ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले मतदानमा भाग लिन पाउँछन् । प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिको मतभार बेग्लाबेग्लै हुनेछ । निर्वाचन आउन एक महिना बढी समय बाँकी छँदै दलहरू आन्तरिक तयारीमा जुटेका छन् । निर्वाचनको तयारीका लागि दलहरू आन्तरिक र बाहृय छलफलमा जुटेका छन् । राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न आकांक्षी नेताहरूले दौडधुप सुरु गरेका छन् । उनीहरूले उम्मेदवार हुन शीर्ष नेताकहाँ लबिङ गर्नेदेखि पार्टीमा समेत दबाब बढाउन थालेका छन् ।
यस्तो छ अवस्था
आगामी राष्ट्रियसभा निर्वाचनमा एमाले थप खुम्चिने संकेत देखिएको छ । ५९ सदस्यीय राष्ट्रियसभामा एमालेका हाल १७ सांसद छन् । आगामी चुनावमा एमालेका नौ सांसदको पदावधि सकिँदै छ । पदावधि सकिने नौ सिट नै एमालेले गुमाउने सम्भावना अधिक छ । राष्ट्रियसभामा मतदान गर्ने मतदाताको मतभारले सातै प्रदेशमा वर्तमान सत्ता गठबन्धन अगाडि छ । गठबन्धनले निर्वाचनसम्म निरन्तरता पाए उसले प्रत्यक्ष निर्वाचन हुने १९ जनामा ‘क्लिनस्विप’ गर्ने सम्भावना छ ।
राष्ट्रियसभामा नेपाली कांग्रेससँग १० सिट छन् । यसमध्ये चार सांसदको सिट खाली हुँदैछ । उसले गुमेका चार सिटमा एमालेका समेत खोसेर राष्ट्रियसभाको पहिलो दल बन्ने रणनीति बनाएको नेताहरू बताउँछन् । अघिल्लोपटक १९ सिटका लागि भएको राष्ट्रियसभा चुनावमा एमालेलाई क्लिनस्विप गर्ने गठबन्धन दलले दाबी गरेका थिए । तर, एमाले क्लिनस्विप हुनबाट जोगिएको थियो । त्यसबेला एमालेले राष्ट्रियसभाबाट सात सिट गुमाए पनि कोशी प्रदेशबाट अल्पसंख्यकको कोटाबाट सोनाम ग्याल्जेन शेर्पाले अप्रत्यासित जित हात पार्नुभएको थियो ।
माओवादीसँग हाल राष्ट्रियसभामा १५ सिट छ । यसमध्ये तीन सिट खाली हुँदै छ । कांग्रेससँगको गठबन्धनमा माओवादीले पनि एमालेका नौमध्ये केही सिट खोस्ने लक्ष्य लिएको छ । एकीकृत समाजवादीका आठ सांसदमध्ये स्वतन्त्र भनिएका खिमलाल देवकोटासहित तीनजना बाहिरिँदै छन् । उसले पनि गठबन्धनकै बलमा राष्ट्रियसभामा संख्या बढाउने लक्ष्य लिएको छ । गठबन्धन दलमध्येको जनता समाजवादी पार्टीका तीनमध्ये एकजना सांसदको पदावधि सकिँदै छ । उसले पनि गठबन्धनबाट त्यसको क्षतिपूर्ति गर्ने लक्ष्य राखेको छ ।








