राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन हस्तकला क्षेत्रको योगदान उल्लेखनीय छ : उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गरी मजबुत राष्ट्रिय अर्थतन्त्र बनाउन हस्तकला क्षेत्रको योगदान उल्लेखनीय रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा नेपाल हस्तकला महासंघले आयोजना गरेको २० औं हस्तकला व्यापार मेलामा बोल्दै उद्योग मन्त्री रिजालले यस्तो बताएका हुन् ।
उनले हस्तकला व्यवसायीहरूलाई सरकार सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । मन्त्री रिजालले हस्तकलाका वस्तुहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान र गरिमालाई उच्च राख्ने काम गरेको बताए ।
उनले नेपाली हस्तकला क्षेत्रले हस्तकला वस्तुहरूको माध्यमबाट देशको कला र संस्कृतिको प्रतिनिधित्व गर्ने गरेको दाबी गरे ।
उनले भने ‘नेपाली हस्तकला क्षेत्रले हस्तकला बस्तुहरूको माध्यमबाट देशको कला र संस्कृतिको प्रतिनिधित्व गर्नुको साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान एवं गरिमालाई उच्च राख्न पुयाएको योगदान प्रशंसनीय छ । हस्तकला क्षेत्रले नेपालको आर्थिक र सामाजिक विकासको साथै रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउनमा हस्तकला वस्तुहरूको उल्लेखनीय योगदान रहेको छ । हस्तकला उद्योग व्यवसायीहरूलाई सहयोग गर्न प्रतिबद्ध छ । नेपाल सरकारले हालै स्वीकृत गरिएको नेपाल व्यापार रणनीति २०८०ले हस्तकलाका सामग्रीहरूलाई उदयमान वस्तुहरू तथा भविष्यमा सम्भावना हुनसक्ने वस्तुको रुपमा सम्बोधन गरेको छ ।’
उनले सरकारले हालै स्वीकृत गरेको नेपाल व्यापार रणनीति २०८० ले हस्तकलाका सामग्रीहरूलाई भविष्यमा सम्भावना हुनसक्ने वस्तुको रुपमा सम्बोधन गरेको उल्लेख गरे ।








