तीन करोड ९२ लाख ठगेको आरोपमा कांग्रेस नेताविरुद्ध जाहेरी

काठमाडौं । नेपाली कांग्रेस रामेछापका नेता भरतप्रसाद चौलागाईं विरुद्ध काठमाडौं प्रहरीमा जाहेरी परेको छ ।

ललितपुर महालक्ष्मी नगरपालिका–८ का सानुभाई थापाले चौलागाईंविरुद्ध उजुरी दिएका हुन् । काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलका अनुसार चौलागाईं विरुद्ध बैंकिङ कुसर मुद्दामा जाहेरी परेको हो ।

चौलागाईंले थापालाई दिएको ८० लाख रुपैयाँको चेक बाउन्स भइपछि थापा प्रहरीकहाँ पुगेका हुन् । चौलागाईंले माछापुच्छ«े बैंक लाजिम्पाट शाखामा रहेको खातामा रकम रहेको भन्दै चेक दिएका थिए । उक्त चेक असारमा साटिनुपर्ने भए पनि नसाटिएपछि अहिले प्रहरीकहाँ उजुरी परेको हो ।

तर, उक्त खातामा रकम नभएको भन्दै बैंकले फिर्ता गरेको थियो । पटक–पटक रकमबारे कुरा गर्दा पनि चौलागाईंले बैकमा रकम जम्मा नगरी ठग्न खोजेको भन्दै थापाले चेक बाउन्स गरेर प्रहरीमा जाहेरी दिएका हुन् ।

थापासँग चौलागाईंले जग्गा कारोबारको लागि तीन करोड ९२ लाख रुपैयाँ लिएको उजुरीमा उल्लेख छ । तर, रकम फिर्ता नभएको बताइएको छ । ८० लाख बाहेक थापासँग चौलागाईंले दिएको अर्को ३ करोड १२ लाखको चेकसमेत बाउन्स भएको छ । चौलागाईंले आफूले थापालाई रकम तिर्न बाँकी रहेको स्वीकार गरे ।

उनले भने, “मेरो र थापाबीच आर्थिक कारोबार भएको हो । मैले उहाँलाई दिनुपर्ने छ । म दिन्छु । मलाई प्रहरीले पनि जानकारी गराएका थिए । काठमाडौं बाहिर भएका कारण आउन सकेको छैन ।” रामेछाप सुनापाति गाउँपालिका–१ का चौलागाईं कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् । उनी रामेछाप कांग्रेसमा सक्रिय छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =