एसिसी यू–१९ एसिया कप : पाकिस्तानसंग ७ विकेटले हार्यो नेपाल

काठमाडौं । एसिसी यू–१९ एसिया कपमा नेपाल पाकिस्तानसंग ७ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा पुरा गर्यो ।
पाकिस्तानको जितमा कप्तान शाद बाइग र अजन अवाइसले अर्धशतक प्राहर गरे ।
पाकिस्तानका ओपनर शामयल हुसेनलाई नेपालका गुल्सन झाले पहिलो ओभरको तेस्रो बलमा शून्यमा आउट गरेका थिए । गुल्सनले नै दोस्रो विकेट लिने क्रममा पाकिस्तानका शाहजइब खानलाई १५ रनमा दिपेश कँडेलबाट क्याच गराए ।
नेपालका लागि तेस्रो विकेट आकाश त्रिपाठीले लिए । उनले २५औं ओभरको तेस्रो बलमा पाकिस्तानका कप्तान शाद बाइगलाई ५० रनमा सुवास भण्डारीबाट क्याच गराए ।
अजनले नटआउट ५६ रन जोडे। उनले ६२ बलमा ८ चौका हिर्काए । मोहमद जीशनले ८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै नटआउट २० रन जोडे ।
नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे । उनले ७० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन जोडे ।
दिपेश कँडेलले बनाएको ३१ रन पनि नेपालका लागि महत्वपूर्ण सावित भयो ।
दिपेश र उत्तमबीच छैटौं विकेटका लागि ६८ रनको साझेदारी भएको थियो । कँडेलले ५९ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
कँडेल आउट भएको दुई ओभरपछि विशाल विक्रम केसी आउट हुँदा १ रन मात्र जोड्न सके । यस्तै विकेटकिपर विपिन रावल पनि ३८ ओभरमा शून्यमा मोहमद जीशानबाट बोल्ड भए ।
त्यसअघि खराब ब्याटिङ गरेको नेपालका ओपनर अर्जुन कुमाल २१ रन जोडेर चौथो विकेटको रुपमा आउट भएका थिए । उनले ३७ बलमा ३ चौका प्रहार गरे । लगत्तै अर्को ओभरमा गुल्सन झा १ रनमै आउट हुँदा नेपालले १७ ओभरमा ४६ रन जोड्दा सुरुवाती ५ विकेट गुमायो । गुल्सनलाई पाकिस्तान अली अस्फानले १७ ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए ।
त्यसअघि कप्तान देव खनाल १३ बल खेल्दा शून्यमा आउट भए । आकाश त्रिपाठी ६ रनमा पाकिस्तानका उबइद शाहको एलबिडब्लूको धरापमा परे भने तिलक भण्डारी ७ रनमा क्याच भएका थिए ।
अन्तिम विकेटको रुपमा आकाश चन्द ५ रनमा बोल्ड हुँदा सुवास भण्डारी ८ रनमा नटआउट रहे ।
बलिङमा पाकिस्तानका मोहमद जीशानले ६ विकेट लिए। उनले ९.२ ओभरमा १९ रन जोड्दा १ मेडन राखे ।








