त्रैमासिक समीक्षा

भूकम्प प्रभावित परिवारलाई २५ लाखसम्मको आवासीय घर कर्जा उपलब्ध गराइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत ब्याजदर घटाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकले ब्याजदर घटाएको हो ।

राष्ट्र बैंकले बैंक दरलाई ७ दशमलव ५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाएर ५ दशमलव ५ प्रतिशत र निक्षेप सङ्कलन बोलकबोल दरलाई ४ दशमलव ५ प्रतिशतबाट घटाएर ३ दशमल ० प्रतिशत कायम गरेको छ । विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरूको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी दर घटाइएको राष्ट्र बैंकले जनाएको छ ।

अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत् राखिएको छ । समीक्षामार्फत राष्ट्र बैंकले रियल स्टेट कर्जा र ५० लाख रुपैयाँभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाख रुपैयाँभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरेको हो ।

भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरूको पुनर्निर्माणका लागि सस्तो ब्याजमा ऋण दिने व्यवस्था गरिएको छ । सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रूपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५ लाख रुपैयाँसम्मको आवासीय घर कर्जा दिँदा आधार दरमा २ प्रतिशत विन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने समीक्षामा उल्लेख छ ।

यस्तै भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *