कर्जा असुली प्रक्रिया कानुनअनुसार नै भइरहेको छ: सिद्धार्थ बैंक

काठमाडौँ । सिद्धार्थ बैंकले आफ्नो मनिग्राम शाखाबाट प्रवाह गरिएको कर्जासम्बन्धी विषयलाई लिएर सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकले जारी गरेको विज्ञप्तिअनुसार, दिलिप सिंह ओली नामका व्यक्ति तथा अन्य केही व्यक्तिले विभिन्न ऋणीहरूको नाम उल्लेख गर्दै बैंकको कर्जा प्रवाह र असुली प्रक्रियालाई गलत ढंगले प्रस्तुत गर्ने, बैंक व्यवस्थापन तथा कर्मचारीमाथि आधारहीन आरोप लगाउने र सम्पूर्ण बैंकिङ प्रणालीको विश्वसनीयतामाथि असर पुग्ने उद्देश्यले भ्रमपूर्ण सामग्री प्रचार–प्रसार गरेका छन् ।

बैंकले दिलिप सिंह ओली आफ्नो निक्षेप वा कर्जा ग्राहक नभएको स्पष्ट पारेको छ । साथै, कर्जा स्वीकृति र असुली प्रक्रिया प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार नै सञ्चालन हुँदै आएको जनाएको छ ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार, केही ऋणीहरूको कर्जा अनियमित भएपछि बैंकले कानुनी व्यवस्थाबमोजिम असुली प्रक्रिया अघि बढाएको र त्यसपछि सम्बन्धित व्यक्तिहरूले बैंकका अधिकारी तथा कर्मचारीहरूको नाम र तस्बिर प्रयोग गरी मानहानि हुने खालका भिडियो तथा प्रचार सामग्री सार्वजनिक गरेको बैंकको दाबी छ ।

यस्ता सामग्री कर्जा असुली प्रक्रियालाई विषयान्तर गर्ने उद्देश्यले ल्याइएको भन्दै बैंकले ती आरोपमा कुनै सत्यता नरहेको जनाएको छ।

बैंकले सेवा वा कर्जासम्बन्धी कुनै गुनासो भए बैंकको आन्तरिक गुनासो सुनुवाइ संयन्त्रमा उजुरी गर्न, त्यसबाट समाधान नभए नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाईमा जाने तथा आवश्यक परे कानुनी उपचार खोज्ने व्यवस्था रहेको स्मरण गराएको छ ।

साथै, विद्यमान कानुनी प्रक्रियालाई बेवास्ता गर्दै बैंकको प्रतिष्ठामा आँच पुग्ने गतिविधि नगर्न र समाचार वा भिडियो प्रकाशन तथा प्रसारणअघि तथ्य पुष्टि गरी बैंकको आधिकारिक धारणा लिन सञ्चारमाध्यम तथा सरोकारवालालाई बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =