शासकीय सुधारका लागि आयोग गठन हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ध्यान शासकीय प्रणालीमा सुधार गर्ने कुरामा केन्द्रित रहेको बताएका छन् ।

बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले समग्र शासकीय प्रणालीमा सुधार गरेर अघि बढ्ने सरकारको सोच रहेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले शासकीय प्रणालीमा समग्र सुधारका लागि सरकारले शासकीय सुधार आयोग निर्माण गरेर अघि बढ्ने तयारी गरिरहेको पनि बताए । उनले जनताले अनुभूति गर्ने गरी सेवा प्रवाहको कामलाई अघि बढाउनका लागि समेत मुलुकको समग्र शासकीय प्रणालीमा सुधार गर्नुको विकल्प नरहेको दोहोर्याए ।

प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व लिने बेलामा नतिजामुखी काम गर्न मन्त्रालयका सचिवहरूलाई दिएको निर्देशन अनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उनले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आमुल परिवर्तनकारी सोचका साथ अघि बढ्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले भने ‘सोचेजस्तो शासकीय सुधारको काम गर्न सकिएन । अब सरकारको ध्यान शासकीय सुधार गर्ने कुरामा खाली प्रशासकीय मात्रै होइन । समग्र शासकीय प्रणालीमा नै सुधार गर्ने कुरामा हामी छलफल गरेका छौं । र, शासकीय सुधार आयोग निर्माण गरेर यसको समग्र समीक्षा गर्ने र अगाडि जाने प्रक्रियातिर हामी छौं । त्यसकारण यो छलफलले हाम्रो त्यो सोचलाई प्रत्यक्षरुपले सहयोग पुग्छ भन्ने मैले महसुस गरेको छु । हामीले सेवा प्रवाहको क्षेत्रमा सानासाना कामहरूमा सुधार गरेर अनि ठूलाठूला कामहरूलाई प्रायोटाईज गरेर जान जरुरी छ । जनताले प्रत्यक्ष रुपमा आफूलाई सेवा प्राप्त भएको अनुभूत गरेन भने सरकारप्रति पनि, राजनीतिक दलहरूप्रति पनि र हाम्रो कर्मचारीतन्त्रप्रति पनि जनताको भरोसा कमजोर हुँदै जाने, विश्वास टुट्दै जाने हुन्छ । त्यसकारण हामीले तत्काल जनतालाई सेवा प्रवाह गर्ने कुरालाई कसरी कुन कुरामा केन्द्रित गरेर हामीले विद्यमान ऐन, कानुन भित्रै बसेर सुधार गर्ने सकिने सेवा प्रवाह के हो, हामीले ऐनहरू संशोधन गरेर दीर्घकालीन ढंगले जानुपर्ने के हो ? भनेर ठोस निष्कर्षमा हामी पुग्नुछ । आफ्नो र आफू अन्तर्गतको निकायको नियमित कामहरूलाई नतिजासँग कसरी जोड्ने भन्ने छ । यहाँ प्रसङ्ग आयो । मैले पहिलोचोटी सचिवहरूलाई निर्देशन दिँदैगर्दा जुन ठोस रुपमा प्रस्तुत गर्ने कोशिस गरिएको थियो । त्यो नतिजा र परिणाममा हेर्दा त्यो उत्साहजनक होइन, निराशाजनक रह्यो । भने जसरी अगाडि जान सकेन । त्यसकारण कहीँ न कहीँ यसमा समस्या छ । र, यसको समाधान गर्ने उपाय पनि हामीले खोज्नै पर्नेछ । अर्थतन्त्रको कुरा गर्दा गत साल मैले सरकार प्रमुखको हैसियतले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायद्वारा हुने देखिएन । विगतका तमाम कामहरूको योगदानको कुल योगफलले के देखाउँछ भने हामीले कहीँ न कहीँ रेडिकल्ली सोच्नुपर्ने हुन्छ । त्यसका लागि आफू परिवर्तनको दिशातिर जानुपर्ने हुन्छ । आउने वर्षहरूमा ती कुराहरूमा हामीले गुणात्मक सुधारका उपायहरूको खोजी गर्न जरुरी छ । ’

प्रधानमन्त्री दाहालले जनतामा उत्साह आउने गरी परिणाममुखी काम गर्न पनि मातहतका सबै निकायलाई सचेत गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *