‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्रभु बैंकलाई

काठमाडौँ । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गरेको छ। बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो ।

सन् २००० देखि ‘दि बैंकर’ले गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो । ‘बैंक अफ दि इयर’ अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात् ‘बैंकिङ उद्योगको ओस्कार’ मानिन्छ ।

बिहीबार बेलायतमा भएको समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले संयुक्त रूपमा ‘बैंक अफ दि इयर २०२३’ सम्मान ग्रहण गरे । बैंकले नागरिकलाई पुर्‍याएको वित्तीय सेवा, प्रतिस्पर्धी बैंकबीचको सम्बन्ध र वित्तीय कार्यसम्पादन क्षमतालगायत सूचकका आधारमा मूल्यांकन गरी उत्कृष्ट ठहरिएबापत अवार्डबाट सम्मानित गरिएको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।

बैंकले अवार्ड प्राप्त गरेकोमा प्रमुख कार्यकारी अधिकृत शेरचनले खुसी व्यक्त गरे । सीईओ शेरचनले अवार्ड प्राप्तीको श्रेय प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरूको मेहनत, सेयरधनी, सेवाग्राही तथा शुभचिन्तकलाई दिए ।

‘बैंक अफ दि इयर’ अवार्डलाई ‘बैकिङ उद्योगको ओस्कार’ मानिन्छ। ‘दि बैकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका एक हजार भन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी वर्षैंपिच्छे सम्मानित गर्दै आएको छ । अवार्ड वितरण समारोहमा १२० भन्दा बढी देशका ३५० भन्दा बढी बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता रहेको थियो ।

३ सय बढी शाखा सञ्जाल, ७१ एक्सटेन्सन काउन्टर, ३१० एटीएममार्फत देशव्यापी रूपमा ३१ लाख भन्दा बढी सेवाग्राही बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ  । हाल प्रभु बैंकको चुक्ता पूँजी २३ अर्ब, सम्पत्ति करिब साढे तीन ३ खर्ब, निक्षेप संकलन साढे २ खर्ब र ऋण प्रवाह २ खर्ब ५३ अर्ब छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *