केपी ओली कप : आर्मीको जितमा मल्लको उत्कृष्ट प्रदर्शन

काठमाडौं । केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।
आर्मीले सोमबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीको निलो टिममाथि ११० रनको जित निकालेको हो ।
समूह ‘डी’ को यो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ६ विकेटको क्षतिमा १९५ रन जोड्यो ।
आर्मीका लागि सन्तोस कार्कीले ४१ रन र कप्तान विनोद भण्डारीले ३८ रन जोडे ।
कुशल मल्लले २१ बलमा ३ छक्काको मद्दतमा २५ रन र विवेक यादवले १२ बलमा ३ चौका र २ छक्काको मद्दतमा नटआउट २९ रन जोडे ।
बलिङमा मदन भण्डारीका मोहील श्रेष्ठले २ विकेट लिए ।
१९६ रनको लक्ष्य पछ्याएको मदन भण्डारी १५.४ ओभरमा ८५ रनमा अलआउट भयो। उसका लागि निर्भिक पाठकले सबैभन्दा बढी २८ रन बनाए ।
बलिङमा आर्मीका कुशल मल्लले ३ विकेट लिए । उनले १.४ ओभर बलिङ गर्दा २ रन मात्र खर्चिए । जितेन्द्र मुखिया र साहब आलामले २–२ विकेट लिए ।
त्यसअघि आजै भएको खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो ।








