एरिकासहित करातेका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

काठमाडौँ । १९औँ एसियाली खेलकुदमा रजत पदक विजेता एरिका गुरुङसहित अन्तर्राष्ट्रिय पदक विजेता नेपालका कराते खेलाडी सम्मानित भएका छन् ।

ग्लोबल नेप्लिज कराते अर्गानाइजेसनले भक्तपुरको सल्लाघारीमा शुक्रवार कार्यक्रम आयोजना गर्दै एसियाली खेलकुदमा पदकविजेता एरिका र विश्व सितोरियो कराते च्याम्पियनसिपमा पदकविजेतालाई सम्मान गरेको हो ।

दुर्गम क्षेत्रमा रहेका कराते खेलाडीलाई खेलसामाग्री सहयोग गर्दै आएको ग्लोबल नेप्लिज कराते अर्गानाइजेसनले पदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरूप सम्मान गरेको जनाएको छ ।

एरिकाले गत असोजमा चीनको हाङ्चाओमा सम्पन्न एसियाली खेलकुदमा कुमुतेतर्पm महिला ६८ केजी तौल समूहमा रजत पदक जितेकी थिइन् । फाइनलमा भने कजाखस्तानकी सोफिया बेरुल्त्सेभाससँग पराजित भएपछि उनी एसियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्ने नेपाली खेलाडी बन्नबाट भने चुकिन् ।

गत दसौँ विश्व सितोरियो विश्व च्याम्पियनसिपमा भने नेपालले एक स्वर्ण, तीन रजत र पाँच कांस्य पदक जितेको थियो । सो च्याम्पियनसिपमा एरिकाले स्वर्ण जित्दा विप्लभलाल श्रेष्ठ, मोहम्मद सेखु आलम, निरुपा तामाङले रजत पदक जितेका थिए ।

त्यस्तै आशिष थापा, सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, पुष्पका लामा, एलिसा राजकोटी मगर र सानुमाया थिङले कांस्य पदक दिलाएका थिए । एसियाली खेलकुद र विश्व च्याम्पियनसिपमा पदकविजेता खेलाडीलाई आठौँ सागका स्वर्ण विजेतासमेत रहेका सुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा रहेको ग्लोबल नेप्लिज कराते अर्गानाइजेसनले सम्मान गरेको हो ।

ग्लोबल नेप्लिज कराते अर्गानाइजेसनले एरिकालाई ३० हजार, रजत विजेतालाई १५ हजार र कांस्य विजेतालाई १० हजार रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गर्यो ।

बागमती प्रदेश सभाका सदस्य मिनकृष्ण महर्जन, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र नेपालमा करातेका संस्थापक थानेश्वर राईलगायतले खेलाडीलाई सम्मान गरेका थिए ।

सो अवसरमा करातेका प्रमुख प्रशिक्षक तुल्सी महर्जन, प्रशिक्षक कुशल श्रेष्ठ, छोरिमैया डंगोल, वीरकृष्ण शाही र टिम व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि सम्मान गरिएको थियो । ग्लोबल नेप्लिज कराते अर्गानाइजेसनलले यसअघि कर्णाली प्रदेशमा सुर्खेतका डोजोमा ५० हजार बराबरको करातेका सामग्री प्रदान गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *