टिप्पणी

सिङ्गो एमाले दुर्गा प्रसाईँसँग भिड्नुको तात्पर्य के हो ?

काठमाडौं । संसद्को दोस्रो ठुलो दल नेकपा एमाले र चर्चित मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँबीचको विवादले उग्र रूप लिएको छ ।

एमाले नेता महेश बस्नेतले बीजारोपण गरेको विवादमा सिङ्गो एमाले पार्टी नै जोडिएको छ । प्रसाईँसँग वार कि पारको शैलीमा एमाले मङ्सिर ७ गते सडकमा आउँदै छ । त्यसैको तयारी स्वरूप एमालेले शनिवार काठमाडौँमा विशेष बैठकको आयोजना समेत गरेको थियो ।

अहिलेसम्म राजवादी र गणतन्त्रवादीको भिडन्त हुने चर्चा गरिए पनि अब मङ्सिर ७ मा एमाले र दुर्गा प्रर्साईँबीच भिडन्त हुने निश्चित भएको छ । कालोमोसो प्रकरणबाट उग्र बनेका प्रसाईँले एमाले अध्यक्ष ओलीविरुद्ध आगो नै ओकल्न थालेपछि एमाले उनीसँग रुष्ट छ । फलतः महेश बस्नेत भर्सेस प्रसाईँको बिचमा रहेको विवाद औपचारिक रूपमै एमाले भर्सेस दुर्गा प्रसाईँ बन्ने निश्चित भएको छ ।

सडकबाट वर्तमान व्यवस्था फाल्ने र नेपाली जनतालाई मुक्ति दिलाउने भन्दै दुर्गा प्रसाईँले सडक आन्दोलनको तयारी अन्तिम चरणमा केन्द्रित गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिवार विशेष बैठकको आयोजना गरेर नेता कार्यकर्तालाई चनाखो रहन भनेका छन् । लोकतन्त्रविरुद्ध औँलो ठड्याए देखाइ दिने चेतावनी दिएका ओलीले नै मङ्सिर ७ को युवाको प्रदर्शनमा एमालेको साथ रहेको बताएर प्रसाईँ विरुद्धको काउन्टरलाई संस्थागत बनाइदिएका छन् ।

व्यक्तिका विरुद्ध पार्टी ?
युवा संघको कालोमोसो देखि सुरु भएको एमाले भर्सेस दुर्गा प्रसाईँको लडाई महेश बस्नेत हुँदै अध्यक्ष केपी शर्मा ओली बाट पार्टीसम्मै पुगेको हो ।

प्रसाईँले देश बचाउने महाअभियानका नाममा मङ्सिर ७ का कार्यक्रमलाई काउन्टर दिने गरी त्यही दिन युवा संघ र अनेरास्ववियुले गर्न लागेको विरोधलाई संस्थागत गराएर एमाले पार्टी नै यसमा लाग्नुको कारण के हो ?

ओली भन्छन्-‘७ गते म सुन्दैछु- एउटा कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरू जोड्तोड्ले लागेका छन् देशभरबाट । व्यक्ति वा मानिसहरू उतार्नका लागि । काठमाडौँमा मानिसहरू उतार्नका लागि उनीहरू लागेका छन् । ती मानिसहरू आएर काठमाडौँमा कुनै केही हुने होइन, तिनले काठमाडौं फोहोर गर्ने मात्रै हुन् । अरू केही हुनेवाला छैन । हामी मान्छे ओसारेर होइन, यही भएका युवा, विद्यार्थी र त्यसको पृष्ठ भागमा युवा, विद्यार्थी एक्लै छैनन् त्यहाँ संरक्षक संस्थाहरू पनि छन् भन्ने कुरा म सरकार र अरू प्रकारका सबै दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरूलाई भन्न चाहन्छु । यो हामीले थोरै संकेत मात्रै गर्न खोजेको हो ।’

नेपालीको मुक्ति कै दिनका रूपमा मङ्सिर ७ लाई स्थापित गर्ने दाबी गरिरहेका दुर्गा देशका विभिन्न भागबाट मान्छेहरू समेत काठमाडौं आउन सुरु भइसकेको दाबी गर्छन् । जसलाई केन्द्रित गर्दै विशेष बैठक बोलाएको एमालेले आफूहरूले सरकारले ठिक ढङ्गले काम गर्न सकेन भनेर साङ्केतिक विरोध मात्र गर्न खोजेको बताएको छ ।

एमाले युवा विद्यार्थी अगाडि रहेर गरिने सो प्रदर्शनमा निषेधाज्ञा भने नतोड्न र सरकारले रुट तोकेमा सोही रुटमा प्रदर्शन गर्न पनि ओलीले आफ्ना कार्यकर्तालाई निर्देशन दिइसेका छन् । पुगेसम्म रातो टोपी लगाउन, सबैलाई झन्डा बोकेर प्रदर्शन गर्न निर्देशन दिएका उनको यो कदम सरकारकै पक्षमा जस्तो समेत देखिएको छ । यता कालो मोसोबाटै रन्थनिएर अघि बढेका प्रसाईँ पनि यसै पछि हट्ने पक्षमा छैनन् । सरकारले दुवै पक्षलाई काठमाडौँ केन्द्रित कार्यक्रम नै गर्न नदिनेसम्मको तयारी गरेको खबरकाबीच उनी कार्यक्रमको काउन्ट डाउन सहित अघि बढेका छन् ।

हुन त अस्थिरताका पक्षधर शक्तिविरुद्ध एकजुट हुनुपर्ने बताउँदै अन्य दल र नेताहरू समेत प्रसाईँका गतिविधि विरुद्ध एक स्वर सुनिँदै आएका छन् । तर प्रतिपक्षीका लागि यो सरकार थर्काउने अवसर नै पनि हुन सक्थ्यो या मौन बसेर अघि बढ्ने विकल्प समेत एमालेसँग थियो । तर कालोमोसो लगाउने होस् या प्रसाईँ विरुद्ध भिड्ने विषयमा होस् सरकारलाई भन्दा बढी चासो एमालेलाई देखिरहेको छ । जसको उत्कर्ष मङ्सिर ७ बन्ने सम्भावना बढ्दा एमाले नै किन बढी तातिरहेको छ त्यो भने रहस्यपूर्ण छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *