दक्षिण एसियाली कराते च्याम्पियनसिप हुँदै

काठमाडौँ । सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप आगामी मंसिरको तेस्रो सातादेखि सुरु हुने भएको छ ।

नेपाल कराते महासंघको आयोजनामा आगामी मंसिर १६ गतेदेखि ६ राष्ट्रले प्रतिस्पर्धा गर्ने दक्षिण एसिया कराते च्याम्पियनसिप हुन लागेको हो ।

यस किसिमको च्याम्पियनसिप २५ वर्षपछि आयोजना गर्न लागेकाले यो आयोजनाबाट नेपाली करातेको गरिमा अझ बढाउने आयोजकको विश्वास छ । महासंघले शुक्रवार पत्रकार सम्मेलन आयोजना गर्दै च्याम्पियनसिपबारे जानकारी दिएको हो ।

नेपालसहित बङ्गलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलङ्काले दुईदिने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने महासंघका अध्यक्ष युवराज लामाले जानकारी दिए ।

प्रतिबन्धमा रहेकाले श्रीलंकाको भने एनओसी टिम सहभागी हुने जनाइएको छ । च्याम्पियनसिपमा क्याडेट, जुनियर, यु–२१ र सिनियरमा गरी चार विधामा कुल तीन सय ५३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

महासंघका महासचिव दावा गुरुङले कुल ६२ स्वर्णका लागि प्रतिस्पर्धा हुने जानकारी दिए । यस क्रममा क्याडेटमा १२, जुनियरमा १५, यु–२१ मा १६ र सिनियरमा १९ स्पर्धामा खेल हुनेछ । नेपालबाट भने ६८ खेलाडीले सबै स्पर्धामा चुनौती प्रस्तुत गर्ने भएका छन् ।

नेपाली खेलाडीको प्रशिक्षणका लागि ६ प्रशिक्षक र दुई व्यवस्थापकको व्यवस्था गरिएको छ । गोकर्णेश्वरस्थित शंखडोल कराते एकेडेमीमा कुमुते टोली र बौद्ध डोजामा काता टोलीले तयारी गरिरहेका छन् । महासंघका अध्यक्ष लामाले प्राविधिक रूपमा यो प्रतियोगिता आयोजना गर्नुपर्ने बंगलादेशले प्रस्ताव नै नगरेकाले नेपालले आयोजनाका लागि प्रस्ताव गरेकोमा एसियाली कराते महासंघ (एकेएफ) ले स्वीकृति दिएको जानकारी दिए ।

एकेएफ र राखेपबाट स्वीकृति पाएको प्रतियोगितालाई विश्व कराते महासंघ (डब्लुकेएफ) र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको कराते महासंघले जनाएको छ ।

च्याम्पियनसिपका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा हुनेछ । आयोजकले प्रतियोगिता सञ्चालन गर्न करिब एक करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । प्रतियोगिताअघि मंसिर १२ गतेदेखि एकेएफ रेफ्री सेमिनार सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *