अवैधरुपमा अमेरिका छिरेका नेपालीको अमेरिकी हिरासतमा मृत्यु

काठमाडौँ । अवैधरुपमा अमेरिका छिरेका एक नेपालीको अमेरिकाको अध्यागमन हिरासतमा मृत्यु भएको छ ।
सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाएका हुन् ।
उनी साढे दुई महिनादेखि अमेरिकाको अध्यागमन हिरासतमा रहेका थिए । अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आईसीईले उनको मृत्युको पुष्टी गरे पनि मृत्युको आधिकारिक कारण भने खुलाएको छैन ।
उनी एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर ०८० भदौ ५ गते उनी घरबाट हिँडेको पारिवारिक श्रोतले बताएको छ । काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगका उनी मेक्सिकोबाट अवैधरुपमा अमेरिकाको एरिजोनाको लुकभिल छिरेका थिए ।
उनलाई तत्काल अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएका थिए । त्यसपछि उनलाई टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखियो । हिरासतमा रहँदा नै कात्तिक २७ गते उनको मृत्यु भयो । अवैधरुपमा प्रवेश गरेको भन्दै उनलाई डिपोर्ट गर्ने तयारी थियो ।
मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् । सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतका अनुसार उनको शव स्वदेश झिकाउने तयारी भइरहेको छ ।








