के टिकटक चलाउन ‘भीपीएन’को प्रयोग सुरक्षित छ ?

काठमाडौँ । नेपालमा भीपीएनको प्रयोग गरेर टिकटक चलाउनेहरु बढेका छन् । सरकारले नेपालको इन्टरनेटमा टिकटक बन्द गरेपछि भीपीएनको प्रयोग गरेर टिकटक चलाउनेहरु बढेका हुन् ।

टिकटक प्रयोगकर्ताहरूले भीपीएन प्रयोग गरेर टिकटक चलाउन सकिने अनुभव सुनाइरहेका छन् । सरकारको निर्णयप्रति असन्तुष्ट केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त भीपीएनको चोर बाटो प्रयोग गर्दै टिकटक चलाएर चुनौती दिने घोषणा समेत गरे ।

इन्टरनेट सेवा प्रदायकहरूले बन्द गरे पनि कतिपयले नेपालबाटै टिकटकमा नयाँ भिडिओहरू अप्लोड गरिरहेको हुनाले नेपालमा भीपीएनको प्रयोगबाट गरेर टिकटक चलाएको अनुमान लगाउन सकिने जानकारहरू बताउँछन् ।

भीपीएन के हो ?
भर्चूअल प्राइभेट नेटवर्क अर्थात् भीपीएन विशेषतः हामीले प्रयोग गर्ने उपकरण र अन्य कम्युटरबीच इन्टरनेटको सुरक्षित सञ्जाल स्थापित गर्ने प्रविधि हो । साधरणतया हामी अनलाइन हुँदा हामीले प्रयोग गरिरहेको उपकरणबाट इन्टरनेट सेवा प्रदायकको माध्यम हुँदै हामी व्यापक इन्टरनेटको सञ्जालमा जोडिन्छौँ । भीपीएनले हामीलाई अर्को एउटा कम्प्युटरमार्फत् इन्टरनेटको सञ्जालमा जोडिदिन्छ ।

धेरैजसो भीपीएन कार्यालयमा मात्रै प्रयोग गर्न मिल्ने गरी बनाइएका एप्लिकेशन हुन् । ती अहिले व्यक्तिगत रूपमा पनि प्रयोग हुने गरेका छन् । तर केही मानिसहरू इन्टरनेटको प्रयोगमा सरकारले लगाएको सेन्सरशिप वा प्रतिबन्ध छल्नका लागि पनि भीपीएन प्रयोग गर्छन् । सरकारी प्रतिबन्ध छल्न भीपीएनले हाम्रो गतिविधि अर्को देशमा रहेको कम्प्युटर प्रणालीमार्फत् देखाइदिन्छन् ।

सुरक्षित छ ?
कम्प्युटर असोसिएशन अफ नेपाल ुक्यान फेडेरेसनुका महासचिव तथा साइबर सुरक्षाविज्ञ चिरञ्जीवी अधिकारी साधारणतया भीपीएन सुरक्षित नभए पनि यसलाई सुरक्षित बनाएर प्रयोग गर्न सकिने बताउँछन् ।

उनका अनुसार सित्तैमा प्रयोग गर्न मिल्नेको तुलनामा पैसा तिरेर प्रयोग गर्न मिल्ने भीपीएनहरू सुरक्षित हुन्छन् । ‘सबै भीपीएन सुरक्षित हुँदैनन् । प्रिमिअम भीपीएन जुन पैसा तिरेर मात्रै चलाउन मिल्ने हुन्छ ती केही सुरक्षित हुन्छन् । तर सित्तैमा पाइने भीपीएनबाट सित्तैमा भाइरस पनि डाउनलोड हुन्छ । उनीहरूले आय गर्ने बाटोका लागि एक्सटेन्शनहरू वा निश्चित सूचनाहरू एपले लिने गरी बनाएको हुन्छ,’ उनले भने ।

कुन र कस्तो भीपीएन प्रयोग गर्ने भन्ने कुरा बुझेर मात्रै प्रयोग गर्नुपर्छ । सित्तैमा पाइने धेरैजसो भीपीएनमा घातक सफ्टवेअरको जोखिम हुन्छ । जानकारहरूका अनुसार कतिपय भीपीएनहरूले विभिन्न माध्यमबाट हाम्रो उपकरणमा स्पाइवेअर, माल्वेअरहरूलाई बाटो दिन सक्छन् । त्यसो हुँदा हाम्रो उपकरणमा भएका अन्य विवरण जोखिममा पर्न सक्छन् ।

विशेष गरी भरपर्दो नमानिने भीपीएन प्रयोग गरिएका उपकरणमा रहेका अन्य सामाजिक सञ्जालका खाताहरू र बैंकिङ सूचनाहरू चोरीको जोखिम हुन्छ । ‘हाम्रोमा टिकटक बन्द भयो भन्नेबित्तिकै अब ह्याकरहरूलाई भीपीएनको प्रयोग गरेर टिकटक चलाइरहेका हुन्छन् भन्ने थाहा भइसक्यो,’ अधिकारी भन्छन्, ‘अब उनीहरूले इन्क्रिप्ट गरेर विभिन्न माध्यमबाट माल्वेअरहरू पठाउँछन् र त्यसलाई क्लिक गर्नेबित्तिकै हाम्रोबाट सूचनाहरू चोरी हुन्छ ।’ –बीबीसी नेपालीको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *