बाबरलाई पछि पार्दै शुभमन बने नम्बर ‘वान’ ब्याट्सम्यान

काठमाडौं । भारतका युवा ब्याटर शुभमन गिल आइसिसी एकदिवसीय ब्याट्सम्यानको वरीयतामा शीर्ष स्थानमा उक्लिएका छन् ।
उनी पाकिस्तानका बाबर आजमलाई पछि पार्दै शीर्ष स्थानमा पुगेका हुन् ।
आइसिसी क्रिकेट विश्वकपमा उत्कृष्ट ब्याटिङ गरेका गिलले गत साता श्रीलंकाविरुद्ध ९२ र दक्षिण अफ्रिकाविरुद्ध २३ रनको योगदान दिएका थिए । उनले प्रतियोगितामा ६ इनिङ्समा कुल २१९ रन बनाएका छन् ।
बाबरले विश्वकपमा आठ खेलमा कुल २८२ रन बनाएका छन् र गिलभन्दा ६ रेटिङ पोइन्ट तल झरेर दोस्रो स्थानमा पुगेका छन् ।
तेस्रो स्थानमा दक्षिण अफ्रिकाका क्वान्टन डि कक छन् भने चौथो स्थानमा भारतका विराट कोहली छन् । पाँचौ स्थानमा अस्ट्रेलियाका डेभिड वार्नर र छैटौं स्थानमा भारतका रोहित शर्मा छन् ।
यता बलरको वरीयतामा भारतका मोहमद सिराज छन् । दोस्रो स्थानमा दक्षिण अफ्रिका केशव महाराज, तेस्रो स्थानमा अस्ट्रेलियाका एडम जाम्पा, चौथो स्थानमा भारतका कुलदिप यादव र पाकिस्तानका शाहीन अफ्रिदी पाँचौ स्थानमा छन् ।








