‘पौडीमा नेपालको सम्भावना छ’

काठमाडौं । नेपाल भ्रमणमा रहेका वल्र्ड एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसाल्लमले नेपालको पौडी खेलमा धेरै सम्भावना रहेको उल्लेख गर्दै पौडीमा नेपालजस्तो अल्पविकसित देशलाई वल्र्ड एक्वेटिक्स सहयोग गर्ने तयार रहेको बताएका छन् ।
नेपाल पौडी संघले मंगलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा उनलाई एक कार्यक्रमबीच स्वागत गरेको थियो । सोही अवसरमा वल्र्ड एक्वेटिक्सका अध्यक्ष हुसेनले पौडीमा नेपाललगायत विश्वका अल्पविकसित राष्ट्रलाई सहयोग गर्न आफूहरू लागि परिरहेको बताएका हुन् ।
उनले सानै उमेरदेखि बालबालिकालाई पौडीमा गर्न आकर्षित संघले गरेको काम प्रति प्रंशसा गरे ।
कार्यक्रममा नेपाल पौडी संघले पौडीमा नेपालका अवस्थाबारे वल्र्ड एक्वेटिक्सका अध्यक्ष हुसेनलाई जानकारी गराएको थियो ।
सो अवसरमा संघले वल्र्ड एक्वेटिक्सका अध्यक्ष हुसेन, वल्र्ड एक्वेटिक्सका कोचिङ एडभाईजर जेम्स गिब्सन र पर्निल ब्लुम (ओलम्पिक तथा वल्र्ड च्याम्पियन) लाई मायाको चिनो प्रदान गरेको थियो ।
त्यसअघि सो टोलीले मंगलबार नै नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव घिसिङसँग भेट गरेका थिए ।
घिसिङले पनि नेपालमा पौडीको अवस्थाबारे जानकारी गराउनुका साथै विश्व एक्वेटिक्सले नेपाली पौडी र खेलाडीलाई गर्न सकिने सहयोगका विषयमा कुराकानी गरेका थिए । सदस्यसचिव घिसिङले पेरिस ओलम्पिकका लागि पौडी खेलाडीको तयारी प्रशिक्षणलाई विश्व एक्वेटिक्सले गर्न सकिने सहयोगका बारेमा पनि हुसेनसँग आग्रह गरेका थिए ।








