रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्छ : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले योगराज ढकाल रिगललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री ज्वालाले रिगलको कैद मिनाहालाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताएका हुन् ।
उनले सरकारले कुनैपनि निर्णय गर्दा संविधान, नियम र कानुनलाई ध्यानमा राखेर गर्नुपर्ने सुझावको रूपमा यो फैसलालाई लिएको बताए । उनले सरकारले निर्णय गर्दाखेरि नै विचार गर्नुपर्ने अवस्था रहेको भन्दै अब अदालतको निर्णयलाई सम्मान गरेर अगाडी बढ्ने बताए ।
उनले भने ‘अदालतले जुन आदेश, फैसला गर्छ सरकारले त्यसलाई सम्मान गर्छ । अदालतको निर्णय सरकारले पालना गर्छ । कतिपय विषयहरू सरकारले निर्णय गर्छ । ती विषयहरू अदालतमा जान्छन् । ती निर्णयमा कहिलेकाहीँ अदालतले फरक आदेश पनि गर्न सक्छ । ती आदेशहरू पालना गर्छ । त्यसैले हरेक निर्णयमा राजीनामाको कुरा आउन थाल्यो भने हरेक फैसला हुँदै जाँदा राजीनामा दिँदै जाने त्यो कति सम्भव हुनसक्छ, यस विषयमा छलफल गर्नु पर्दैन । हरेक विषयमा जोगिएर निर्णय गर्नुप¥यो । संविधान, नियम, कानुनलाई ध्यानमा राखेर निर्णय गर्नुप¥यो । त्यसैले यो एउटा सरकारलाई सुझाव पनि हो । संविधान मिचिएको होइन यस सम्बन्धमा सरकारले निर्णय गर्दाखेरि अझै राम्रो सँग बिचार गर्नुपर्थ्यो तर अब चाहिँ अदालतको निर्णयलाई सम्मान गर्छौ । अदालतको कुनै पनि आदेशलाई सरकारले कार्यान्वयन गर्छ ।’
मन्त्री ज्वालाले अदालतको कुनैपनि आदेशलाई सरकारले कार्यान्वयन गर्ने स्पष्ट पारे ।








