जलवायु परिवर्तनले परेको असरमा विकसित देशहरूले क्षतिपूर्ति दिनुपर्ने कुरा गर्नु खुसीको क्षण : वर्षमान पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनमा नेपालले परेको असरमा विकसित देशहरूले क्षतिपूर्ति दिनुपर्ने कुरा गर्नु खुसीको कुरा भएको बताएका छन् ।
मंगलवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा महासचिव गुटेरेसले सम्बोधन गरेपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले गुटेरेसले नेपालले जलवायु परिवर्तनको असरमा विकसित देशहरूबाट सहयोग पाउनुपर्ने कुरा गर्नु खुसीको कुरा भएको बताएका हुन् ।
उनले महासचिव गुटेरेसले प्रभावित देशहरूलाई विकसित देशहरूले सहयोग गर्नु दायित्व भएको कुरा सम्बोधन गर्नुभएको भन्दै नेपालले पाउनुपर्ने सुविधा पाउनुपर्ने बताएका हुन् ।
उनले शान्ति प्रक्रियाका बाँकी कामहरू नेपालका सबै पक्षहरू बसेर मौलिक ढंगले सम्पन्न गर्न प्राथमिकता दिनुपर्ने बताए ।
उनले भने ‘शान्ति प्रक्रिया नेपालका सबै पक्षहरू बसेर, सबैले आफ्नो मौलिक ढंगले स्वामित्व लिएर सम्पन्न गर्ने कुरा प्राथमिकता दिन्छौँ । महासचिव स्वयं सगरमाथा बेसक्याम्प पुगेर जलवायु परिवर्तन सम्बन्धी ध्यानाकर्षण गराएको कुरा, नेपाल जलवायु परिवर्तनबाट सबभन्दा बढी प्रभावित छ । तर आफ्नो प्रदूषणमा योगदान छैन । तापनि नेपाल र नेपाली जनता प्रभावित छन् । पीडित छन् । यो कुरो विकसित देशहरूले क्षतिपूर्ति गर्नुपर्छ । विपत जोखिम न्यूनीकरण गर्ने, पर्यावरणीय सन्तुलन कायम गर्ने कुरोमा ध्यानाकर्षण गराएको छ । विकसित देशहरूले नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा रहेका देशहरूलाई सहयोग गर्नुपर्छ । किनभने त्यसमा उहाँहरूको दायित्व छ भन्नेकुरा सम्बोधन गर्नुभयो । खुसीको कुरा हो ।’
उनले संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणले नेपालको गौरव बढाएको बताए ।
त्यस्तै, सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका सांसद शशांक कोईरालाले नेपालको शान्ति प्रक्रिया र जलवायु परिवर्तनको असरहरूको सम्बन्धमा महासचिव गुटरेसले आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए ।
उनले भने ‘उहाँले आफ्नो सङ्गठनमार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शान्ति प्रक्रियाका बाँकी काम कसैलाई काखापाखा नगरी सम्बोधन गर्नुपर्छ । तथ्य र सत्यको आधारमा सम्बोधन गर्नुपर्छ ।’
सांसद कोईरालाले शान्ति प्रक्रियाका बाँकी कामहरू निष्पक्ष रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।








