गुटेरेस विकासोन्मुख र अल्पविकसित देशहरूको मुद्दामा गम्भीर भएको पायौँ : सांसद पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले एन्टोनियो गुटेरेस विकासोन्मुख र अल्पविकसित देशहरूको मुद्दामा गम्भीर भएको महसुस गरेको बताएका छन् ।
मंगलवार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै सांसद पौडेलले महासचिव गुटरेसले संसद बैठकमा सम्बोधन गर्ने क्रममा विकासोन्मुख र अल्पविकसित देशहरूको मुद्दामा गम्भीर भएको पाएको बताएका हुन् ।
उनले वातावरण संरक्षण, जलवायु परिवर्तन लगायतको विषयमा संयुक्त राष्ट्रसंघमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गरेको पनि बताए । उनले जलवायु परिवर्तनको असरको सम्बन्धमा अल्पविकसित देशहरूले क्षतिपूर्ति पाउने कुरा महासचिव गुटेरेसले स्पष्ट ढङ्गले राखेको पनि बताए ।
उनले भने ‘महासचिव विकासोन्मुख र अल्पविकसित देशहरूको मुद्दामा गम्भीर भएको हामीले पायौँ । उहाँले विकासोन्मुख र अल्पविकसित देशहरूका बारेमा उहाँले आफ्नो धारणा प्रस्ट ढङ्गबाट व्यक्त गर्नुभयो । वातावरण संरक्षण, जलवायु परिवर्तन लगायत जुन मुद्दाहरूको सन्दर्भ छ, नेपालका मुद्दाहरूलाई संयुक्त राष्ट्रसंघमा त्यस ढङ्गबाट उठान गर्ने, समर्थन गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ । वातावरण प्रदूषण हुने सन्दर्भमा विकसित देशहरूले जुन योगदान गरेका छन्, त्यसको आधारमा अल्पविकसित देशहरूले क्षतिपूर्ति पाउनुपर्ने कुरा उहाँले स्पष्ट ढङ्गले राख्नुभयो । अन्तर्राष्ट्रिय फोरममा नेपालको उपस्थिति बलियो ढङ्गले रहेको कुरा पनि उहाँले व्यक्त गर्नुभयो । नेपालले शान्ति प्रक्रियामा पुराएको योगदानप्रति उच्च प्रशंसा गर्नुभयो । नेपालको शान्ति प्रक्रियाको काममा अन्तर्राष्ट्रिय उदाहरण बनेको काम ।’
गुटेरेसले नेपालको शान्ति प्रक्रियामा भइरहेका कामहरूको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय उदाहरण बनेको उल्लेख गरेको पनि सांसद पौडेलको भनाई छ ।








