दसैंको मौका छोप्दै बढी भाडा लिने माइक्रो बसलाई कारबाही

काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोप्दै बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ।

दमौलीबाट काठमाडौं जाने माइक्रोले प्रतिव्यक्ति एक हजार रूपैयाँ भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिबाना तिराएर कारबाही गरेको छ भने यात्रुहरुको भाडा फिर्ता गराएको छ।

दमौलीबाट काठमाडौं छुट्ने माइक्रोले प्रतिव्यक्ति एक हजार भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजीव विष्टको नेतृत्वमा शुक्रबार बिहान जाँच गरी सबै यात्रुको भाडा फिर्ता गराइएको हो।

दमौलीबाट काठमाडौंसम्मको भाडा ६५० रूपैयाँ रहेकामा चाडपर्वको मौका छोपी केही सवारी साधनले एक हजारसम्म लिने गरेको गुनासो आएको छ।

‘दसैंको मौका छोपी बढी भाडा लिएको गुनासो आएपछि म आफैं जाँच गर्न पुगेको थिएँ’ विष्टल भने, ‘काठमाडौं जाँदै गरेको माइक्रोलाई आँबुखैरेनीमा रोकेर कारबाही गरेका छौं।’

चाडपर्वको मौका छोपी बढी भाडा लिएको भए प्रहरीलाई खबर गर्न उनले आग्रह गरे। त्यस्तै, भोर्लेटारचोकमा बिहानै काठमाडौं जाने यात्रुहरूबाट एक हजार लिएको गुनासो आएपछि प्रहरीले तोकिएभन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =