एनआरएन नेपालका गैरआवासीय दूत हुन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसारभर रहनुभएका नेपालीहरू नेपालका गैर आवासीय दूत भएको बताएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गैर आवासीय नेपालीहरूसँगको भेटमा उनले गैर आवासीय नेपालीहरू पहिलाको भन्दा नेपालप्रति चासो र चिन्ता व्यक्त गर्न थालेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले ५० औँ लाख गैर आवासीय नेपालीहरूले गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको बताए । उनले गैर आवासीय नेपालीका सम्बन्धित थुप्रै सवालहरुलाइ सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गर्ने पहल गरेको बताए । उनले नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपैयाँबाट घटाएर दुई करोड रुपैयाँ कायम गरेको उल्लेख गरेको बताए । उनले धितो पत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको बताए । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय लागू भइसकेको उनको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘गैर आवासीय नेपालीसँग सम्बन्धित थुप्रै सवालहरुलाइ हामीले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गर्ने पहल गरेका छौँ । नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपैयाँबाट घटाएर दुई करोड रुपैयाँ कायम गरेको छ । धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था पनि मिलाइएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय लागू भइसकेको छ । यो एउटा ऐतिहासिक काम हो । अहिलेसम्म तीन लाख भन्दा बढी श्रमिकहरू यो अभियानमा आबद्ध हुनुभएको छ । संसारभर रहनुभएका गैर आवासीय नेपाली नेपालका गैर आवासीय दूत हुनुहुन्छ । नेपालले तपाईँहरूबाट धेरै अपेक्षा गरेको छ । यो पटक मैले चाहे भारत जाँदा होस् वा इटाली, अमेरिका जाँदा चीनमा पनि थुप्रै गैर आवासीय नेपाली साथीसँग भेट गर्ने र अन्तरक्रिया गर्ने अवसर पाएँ । विगतको भन्दा यो पटक मैले नयाँ अनुभूति गरेको अहिले सर्वत्र नेपालप्रति चिन्ता, नेपालप्रति चासो र कसरी नेपाललाई सहयोग गरेर विकास र समृद्धिको यात्रामा योगदान दिन सकिन्छ भन्ने भावना पहिला भन्दा प्रखर भएको छ । नेपालले पनि त्यो वातावरण बनाउन सरकारको तर्फबाट हामी निरन्तर प्रयास गरेका छौँ ।’

कार्यक्रममा गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैर आवासीय नागरिकता अभियान सुरु गरेकोमा सरकारलाई धन्यवाद दिए । उवले गैर आवासीय नेपाली नागरिकता एउटा सानो कागजको टुक्रा मात्रै नभई मुटुको अंश भएको बताए । उनले भने, ‘जुन आज गैर आवासीय नागरिकता अभियान सुरु गरिएको छ, त्यसको धन्यवाद छ । गैर आवासीय नेपाली नागरिकता एउटा सानो कागजको टुक्रा मात्रै होइन, मुटुको अंश बन्नेछ । यो प्रत्येक धड्कनमा नेपाल आमालाई खुसी बनाउन लाग्नेछौँ ।’

कार्यक्रममा बोल्दै संघका कार्यकारी अध्यक्ष बद्री केसीले गैर आवासीय नेपाली नागरिकताको अभियान आज वैधानिक रूपमा नै सार्थक बनेकोमा खुसी व्यक्त गरेका छन् । उनले नागरिकता एउटा अभिभारा पनि भएको र अब मुखले मात्र नभई कामले नै नेपालको समृद्धिसँग जोडिनुपर्ने र गैर आवासीय नागरिकता वंशजकै आधारमा अघि बढ्नुपर्ने बताए । ‘गैर आवासीय नेपाली नागरिकताको अभियान आज वैधानिक रूपमा नै सार्थक बनेको छ । नेपाल सरकारले हाम्रो चाहना र मागलाई सबैले कुनै पनि विवाद नगरी सबैले एकमत भएर नागरिकताको निरन्तरता गराइदिनुभएको छ । नागरिकता एउटा अभिभारा पनि हो । अब मुखले मात्र नभई कामले नै नेपालको समृद्धिसँग जोडिनुपर्छ । गैर आवासीय नागरिकता वंशजकै आधारमा अघि बढ्नुपर्छ,’ उनले भने ।

कार्यक्रममा संघका अध्यक्ष कुल आचार्यले कार्यान्वयनमा आएको गैर आवासीय नेपाली नागरिकताले गैर आवासीयलाई मात्रै नभई उनीहरूका सन्तानलाई पनि नेपालसँग जोडिरहने बताए । उनले वंशजको आधारमा प्राप्त नेपाली नागरिकता निरन्तरताको लागि सरकार र राजनीतिक दलहरूसँग आग्रह गरे । उनले भने, ‘आज कार्यान्वयनमा आएको गैर आवासीय नेपाली नागरिकताले गैर आवासीयलाई मात्रै होइन, तिनीहरूका छोराछोरीलाई पनि नेपालसँग जोड्नेछ । हामीले वंशजको आधारमा प्राप्त नेपाली नागरिकता निरन्तरताको लागि सरकार र राजनीतिक दललाई आग्रह गर्दै आएका छौँ । नेपालको सम्पत्ति यसले नेपालमै रहनेछ । हामीसँग रहेको श्रोत, साधन र सम्पत्तिको उपयोग गरेर मातृभूमिको सेवा गर्ने मौका अब आएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =