दुधसम्बन्धि संस्थाहरूले किसानहरूलाई १ महिनाभन्दा बढी बाँकी नरहने गरी भुक्तानी गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले एक महिनाभन्दा बढी बाँकी नराख्ने गरी किसानहरूलाई दूधको भुक्तानी गर्न दुग्ध विकास संस्थाहरूलाई निर्देशन दिएका छन् ।

सोमवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उनले कारोबार भएको एक महिना भित्र किसानहरूलाई दूधको भुक्तानी गर्न दूधसँग सम्बन्धित सबै संस्थालाई निर्देशन दिइएको बताएका हुन् ।

उनले दूधसँग सम्बन्धित संस्थाहरूको समस्या समाधानका लागि मन्त्रालयले उनीहरूको स्टक रहेको दूधलगायतका उत्पादनहरूलाई धितो राखी सहुलियतमा ऋण उपलब्ध गराउनका लागि पहल गरिदिने समेत बताए ।

दुधसम्बन्धि संस्थाहरूको स्टक रहेको उत्पादनबाट सहुलियत दरमा ऋण दिलाउन सकियो भने उनीहरूको समस्या पनि समाधान भएर जाने मन्त्री भुसालको भनाई थियो ।

उनले भने ‘कमसेकम पनि एक महिनाभन्दा बढी बाँकी नराख्ने गरी भुक्तानी हुनपर्छ भनेर निर्देशन गरेका छौँ । सबैलाई यो डिडिसीको मात्रै होइन, अरू प्राइभेट कम्पनीहरूको पनि दूधको भुक्तानी बाँकी रहेको कुरा हामीलाई आएको छ । त्यसकारण सबै दूधको कारोबार गर्ने संस्थाहरूले किसानको एक महिना भन्दा बढी बाँकी राखी दिनु हुँदैन । एक महिनाको व्यापार गरिसकेपछि त्यसको भुक्तानी दिन सक्नु पर्दछ । त्यसरी जानुस् भनेर हामीले भनेका छौँ । अर्को, उहाँहरूलाई परेको समस्या समाधानका लागि उहाँहरूसँग जुन स्टक छ । उहाँहरूले गरेको उत्पादन धुलो दूधलगायतको जुन उत्पादन छ । त्यो स्टक वस्तु धितो राखेर सहुलियत ऋण उपलब्ध गराउनका निम्ति हाम्रो तर्फबाट पहल गर्ने निर्णय पनि गरिएको छ ।’

मन्त्री भुसालले लम्पी स्किनविरुद्धको खोप नेपालमै उत्पादन गर्नका लागि आवश्यक तयारीको कामलाई अघि बढाइएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =