अर्थतन्त्र बिस्तारै लयमा फर्किँदै छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको बताएका छन् ।

सोमवार महिला आर्थिक पत्रकार सङ्घको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले समग्रमा देशमा अनेकन समस्याहरू रहेको भन्दै सबैले आफ्नो आफ्नो स्थानबाट सकारात्मक पहल गर्न आग्रह गरे । उनले अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको बताए ।

उनले अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै यसका लागि सबै पक्षहरू एकजुट भएर लाग्नुपर्ने बताए ।

उनले भने ‘अहिले समग्रमा देशमा अनेकन समस्याहरू छन् । अन्तर्राष्ट्रिय तहमा पनि अहिले धेरै खाले समस्याहरू छन् । हिजो पनि द्वन्द्वका परिवेशहरू थिए, अहिले पनि नयाँ नयाँ द्वन्द्वका क्षेत्रहरू देखिरहेका छन् । मध्यपूर्वमा धेरै ठूलो द्वन्द्व बढेको छ । अझ बढ्ने सम्भावना र खतरा छ । अन्तर्राष्ट्रिय स्तरमा शक्ति राष्ट्रहरूले यसलाई समयमा नै रोकेनन् भने यसले नराम्रो रूप लिनसक्छ । यसको प्रभाव हामीले पनि भोग्नुपर्छ । अन्तर्राष्ट्रिय तहमै आर्थिक मन्दीको स्थितिमा छ । त्यो मध्येबाट नेपाल पनि अछुतो रहेको छैन । तर मलाई लाग्छ, बिस्तारै हामी अन्तर्राष्ट्रिय परिवेश नकारात्मक हुने अवस्था नआओस् भन्ने चाहन्छौँ । त्यो नभएको अवस्थामा बिस्तारै हाम्रो अर्थतन्त्रमा सुधार आउँछ । सकारात्मक कुरा देखिएका छन् । त्यसका बाबजुद अप्ठ्यारा बाँकी छन् । त्यसलाई सबैले मिलेर समाधान गर्नुपर्छ । अर्थमन्त्रालय, सरकारले मात्रै गरेर समाधान हुँदैन । सबैले आफ्नो आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।’

मन्त्री महतले अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + two =