ओली भेट्न कोशीका मुख्यमन्त्री कार्की बालकोटमा

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
शनिबार मुख्यमन्त्री नियुक्त भएपछि कार्की काठमाडौं आएका थिए । कार्कीले बालकोटस्थित निवासमा पुगेर एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका हुन् ।
भेटमा मुख्यमन्त्री कार्कीले अध्यक्ष ओलीलाई एमालेसँग आफूले गरेको सहमतिमा धोका नदिने बताएको ओलीनिकट एमालेका एक नेताले जानकारी दिए ।
कार्कीसहित कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री कार्कीले शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग निवासमै पुगेर भेटेका थिए ।
कार्की कांग्रेस नेता शेखरनिकट मानिन्छन् । शेखरले नै अडान लिएपछि कोशीमा कार्की मुख्यमन्त्री भएका थिए ।
कोशीमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए । तर उनीहरू शनिबार प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालयमा खनाखत गर्न गएका थिएनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवा र नेता कोइरालाबीच गठबन्धनलाई कायमै राख्ने सहमति शनिबार बिहान बालुवाटारमा भएको थियो ।








