अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रिय सभाबाट अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव पारित भएको छ ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा सांसद प्रकाश पन्थले प्रस्तुत गरेको सो सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव निर्णयनाथ पेस गर्दै भने ‘माननीय सदस्यहरू, अब म अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दछु । अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषण गर्दछु ।’
नेपाली काँग्रेसका सांसद पन्थले प्रस्तुत गरेको सो सङ्कल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरूले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन गर्ने काममा सरकार गम्भीर नभएको आरोप लगाएका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यका हरेक निकायमा उनीहरूको अधिकार सुनिश्चित हुनेगरी आवश्यक व्यवस्था मिलाउने आश्वासन दिएका थिए ।








