विद्युत विधेयक संवैधानिक व्यवस्थाको मार्गदर्शन अनुरूप आएको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले संवैधानिक व्यवस्थाको मार्गदर्शन अनुरूप नै विद्युत विधेयक ल्याएको बताएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा विद्युत विधेयक २०८० माथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री बस्नेतले संवैधानिक व्यवस्थाले मार्गदर्शन गरे अनुरूप नै विधेयक ल्याइएको बताएका हुन् । उनले संविधानले उल्लेख गरेको सार्वजनिक, निजी र सामुदायिक साझेदारीको मार्गदर्शन अनुसार विधेयक आएको बताए ।
उनले विधेयकले कुनै एउटा पक्षलाई मात्रै समेटेर नहिँडेको बताए । सबै क्षेत्रलाई आ–आफ्नो प्रकारको जिम्मेवारी दिइएको उनको भनाई छ ।
उनले भने ‘हाम्रो संवैधानिक व्यवस्थाको सम्मान गर्दै, हाम्रो संवैधानिक व्यवस्थाको मार्गदर्शनलाई पछ्याउँदै यो व्यवस्था गरिएको छ । यो सैद्धान्तिक धरातलमा रहेको छ । सार्वजनिक, निजी र सामुदायिक साझेदारीको जो सैद्धान्तिक मार्गदर्शन छ संविधानको, संवैधानिक व्यवस्थाको । त्यसलाई यो विधेयकले अवलम्बन गरेको छ । त्यसलाई मागदर्शनको रूपमा यसले लिएको छ । यो भ्रम नरहोस् । यसले कुनै एउटा कम्पोनेन्टलाई मात्र समातेर हिँडेको छैन । यसले सम्पूर्ण जिम्मेवारी राज्यले बहन गर्ने मात्र कुरा गरिराखेको छैन । यसले सम्पूर्ण जिम्मेवारी कुनै निश्चित सेक्टरलाई प्रदान गर्ने मात्र पनि कुरा गरिराखेको छैन ।’
उनले मन्त्रालयले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता विकाससँग सम्बन्धित विधेयक र जलस्रोत विधेयक ड्राफ्ट गरेर कानुन मन्त्रालयमा रायका लागि पठाइएको पनि बताए । ती विधेयकहरू पनि छिट्टै ल्याइने उनले बताए ।








