कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले दिए राजीनामा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन् ।
प्रदेशसभामा सम्बोधन गर्दै कार्कीले विश्वासको मत लिनुअघि नै आफूले प्रदेश प्रमुख समक्ष राजीनामा दिएको उनले बताए ।
उनले सबै राजनीतिक दलसँग सहकार्यका लागि राजीनामा गर्न लागेको जानकारी दिएका हुन् ।
राजीनामा घोषणा गर्नुअघि मुख्यमन्त्री कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले आ–आफ्ना दलीय आग्रह नछोडेमा जनचाहनाविपरीत मध्यावधि निर्वाचनमा जानुपर्ने बताएका छन् ।
राजीनामाबारे उनले भने, ’मैले आज विश्वासको मत लिनुअघि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको पदबाट राजीनामा बुझाउने निर्णय गरेको छु । त्यही निर्णय तपाईंहरूसमक्ष सुनाउनका लागि उभिएको छु ।’
मुख्यमन्त्री कार्कीले यसबीचमा जानेर वा नजानेर कोशी प्रदेशको राजनीति जटिल मोडमा पुगेको बताए ।
कार्कीले आफ्नो पक्षमा बहुमत नभएपछि विश्वासको मत लिने प्रस्ताव फिर्ता लिएपछि कोशी प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।








