प्रचण्डलाई शेखरको सन्देश- सच्चिन नसके सरकारको बाटो खालि गर्नुस्

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकार सरकारको बाटो खालि गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको देश अप्ठ्यारो स्थितिबाट अघि बढिरहेको भन्दै सरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके बाटो खालि गरिदिन आग्रह गरेका हुन् ।
उनले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यस परिस्थितिलाई काँग्रेस बाहेक अरूले सम्हाल्न नसक्ने दाबी गरेका छन् । उनले देशको प्रधानमन्त्रीले पार्टीको सभापति झैँ दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताऊ म जातीय राज्य दिन्छु जस्ता अराजक अभिव्यक्ति दिएको बताए । उनले जातीय राज्य गोजीबाट निकालेर दिने हो ? भन्दै प्रश्न गर्नुभयो । गैर जिम्मेवार अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु नेपालीहरूको लागि दुर्भाग्य रहेको उनको भनाई छ ।
उनले भनेका छन्, ‘देश अत्यन्त अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ । जताततै अराजकता छ । यो राजनीतिको अराजकता भन्नुस्, आर्थिक अराजकता भन्नुस्, सामाजिक, धार्मिक अब हुँदा हुँदा कूटनीतिक अराजकता पनि देशमा आइसक्यो । सम्हाल्ने कसले ? नेपाली काँग्रेस बाहेक नेपालमा कुनैपनि लोकतान्त्रिक पार्टी छैन, जसले सम्हाल्न सक्छ । तपाईँहरू चिन्तित हुनुहुन्छ । अन्य पार्टीहरूको पनि कुरा गर्नुभयो यहाँ । हामी सच्चियौँ, सुध्रियौँ, हामीले गाउँमा आफ्ना साथीलाई सम्झाउन सक्यौँ भने कसैलाई हराउन सक्दैन । हामी एकढिक्का हुन जरुरी छ । हामी एक्लै चुनाव लड्नुपर्छ । त्यसका लागि गोरखा काँग्रेस एक ढिक्का हुन जरुरी छ । देश अराजकताबाट गइरहेको छ । देशको प्रधानमन्त्री भन्न त हुँदैन, गोरखाबाटै जितेर प्रधानमन्त्री हुनुभएको छ । देशको प्रधानमन्त्री के भन्नुहुन्छ भने दुई लाख मान्छे सडकमा उतार्छु भन्नुहुन्छ । उहाँ देशको, तपाई हाम्रो प्रधानमन्त्री हो की उहाँ एउटा पार्टीको सभापति हो ? पार्टीको सभापति हो भने उहाँले जे बोलेपनि हुन्छ । तर देशको प्रधानमन्त्रीले त्यस्तो गैर जिम्मेवार कुरा गर्न मिल्दैन । उहाँ २०८४ मा मलाई भोट देऊ, माओवादीलाई जिताऊ म जातीय राज्य दिन्छु भन्नुहुन्छ । लाग्छ उहाँले खल्तीबाट राज्य निकालेर दिने हो । कुनैपनि जाति विशेष नेपाल छैन, बहुजातिय, बहुभाषिक छ । त्यसैले जातीय राज्य दिन सकिँदैन । त्यस्तै गैर जिम्मेवार, अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु, नेपालीहरूको लागि दुर्भाग्य हो । हाम्रो लागि दुर्भाग्य हो । कुनैपनि तरिकामा देश ठिक ढङ्गले अघि बढेको छैन । त्यसैले यो सरकार सच्चिनुपर्छ । सच्चिन सक्दैन भने छोड्नुपर्छ । अर्को विकल्प छैन । काँग्रेसले मात्रै यी अराजकताहरूलाई समाप्त गर्नसक्छ ।’








