संविधानको भावना अनुसार नै जनयुद्ध दिवसमा बिदा दिइएको होः ऊर्जामन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले फागुन १ गतेलाई सार्वजनिक बिदा दिने निर्णय संवैधानिक व्यवस्था अनुसार नै गरेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीको सशस्त्र युद्ध सुरु गरेको सो दिनलाई सरकारले सार्वजनिक बिदा दिएर संविधानको उलङ्घन गरेको बताएपछि उनले सो जवाफ दिएका हुन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले संविधानको प्रस्तावनामा नै शहीद, बेपत्ता र पीडित नागरिकलाई सम्मान गर्ने कुरा उल्लेख गरिएकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णयलाई संविधान विपरीत भन्नु तर्कसम्मत नभएको जिकिर समेत गरे ।

उनले संविधानको भावना र अक्षरहरूलाई सम्मान नगर्ने हो भने मुलुक दुर्घटनामा फस्नसक्ने चेतावनी समेत दिए ।

मन्त्री बस्नेतले भने ‘संविधानको भावना र अक्षरहरूलाई हामीले सम्मान गर्न सकेनौ भने त्यतिखेर संविधान दुर्घटनाको जोखिम बढ्न सक्ने हुन्छ । मैले यसोअघि यहाँ संविधानको बारेमा चर्चा हुँदाहुँदै फागुन १ गते सरकारले बिदा घोषणा गरेको सन्दर्भमा चर्चा भईराख्दा अलिकति मैले त्यो बारेमा सोचे । हाम्रो संविधानको प्रस्तावनाको दोस्रो प्यारामा प्रस्ट रूपमा लेखिएको रहेछ–त्यो गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै शहीद बेपत्ता एवं पीडित नागरिकहरूलाई सम्मान गर्दै भन्ने कुरा हाम्रो संविधानको प्र्रश्तावनामा लेखिएको छ । तर अव त्यसको सम्मान किन गरिएको, स्मरण किन गरिएको रु यसो भयो भने संवैधानिक दुर्घटना हुन्छ, संविधानको यो खिलाफमा हुन्छ भन्नेकुरा त्यति तर्कसङ्गत जस्तो लाग्दैन । किनकि, हामीले संविधानको सम्मान र भावनाको कदर गरेर मात्र हामी संविधानको रक्षा गर्नसक्छौं । ’

मन्त्री बस्नेतले सरकारले संविधान अनुकूल हुनेगरी कानुन निर्माणको कामलाई तीव्रता दिएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =