आज शनिबार : देशभरका घटना अपडेट

दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित छ जना पक्राउ
टोखा नगरपालिका-५ स्थित सुनकोशी क्याफेबाट दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रे पनौती नगरपालिका-१० बन्थली घर भएका ३२ वर्षीय जयराम घिमिरे, सोही नगरपालिका-८ घर भएका ४२ वर्षीय नारायण थामी, सोही नगरपालिका-४ घर भएका २८ वर्षीय रूपक बस्नेत, काभ्रे नमोबुद्ध नगरपालिका-२ पातले गाउँ घर भएका २६ वर्षीय रहर तामाङ, काभ्रे नमोबुद्ध नगरपालिका-३ घर भएका ४६ वर्षीय सुदर्शन तामाङ र उदयपुर त्रियुगा नगरपालिका-१३ घर भएका ३८ वर्षीय राजकुमार राई रहेका छन् ।
टोखा नगरपालिका-५ स्थितमा अवैध रूपमा सुनौलो रङको कछुवाको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त कछुवासहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ ।
हत्या गरेको अभियोगमा पक्राउ
कटहरिया नगरपालिका-५ सपहिमाई मन्दिर बस्ने ३२ वर्षीय सुनिल यादवको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय बद्रि साहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने ५० वर्षीय रामबाबु साहलाई सुनिलको छोराले जिस्काएको, धुलो माटो छर्किदिएको विषयलाई लिएर विवाद हुँदा रामबाबु साहको छोरा बद्रि साहले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका सुनिलको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटहरिया र ईलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको प्रहरीले बद्रिलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको लागि उक्त झै-झगडामा संलग्न रामबाबु समेत ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध एम्फेटामाइन जस्तो देखिने पदार्थ २ ग्रामसहित रौतहट राजपुर फरहदबा नगरपालिका-४ घर भएका ३७ वर्षीय शेख मालिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले सर्लाहीदखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २४१६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, बेलबारी नगरपालिका-११ स्थित केसलिया पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्रामसहित सोही नगरपालिका-४ त्रिबेणी चोक बस्ने २३ वर्षीय अनुप राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उदयपुर, रौतामाई गाउँपालिका-७ देवाने बस्ने ५२ वर्षीय टेक बहादुर मगरलाई अवैध लागूऔषध गाँजा करिब ५ केजीसहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट संगम चोकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
धादिङ, धुनिवेशी नगरपालिका-७ नौविसेस्थित सडकबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ करिब १४ केजीसहित थाक्रे गाउँपालिका-३ मसिनोडाँडा बस्ने २४ वर्षीय गणेश तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । महादेववेशीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०२-०३३ प ७२७१ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा चालक तामाङको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
६५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका-१ बनखेत बस्ने ५३ वर्षीय कुल बहादुर बिकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
बिकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु
दैलेख, दुल्लु नगरपालिका-२ आपकोरूख दुल्लुस्थित भित्री सडकमा लु.३ त ९६९४ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-२ पाली बस्ने २५ वर्षीय धर्म महतको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ ।
रौतहट, फतुवा विजयपुर नगरपालिका-५ सन्तपुर चोकमा ना.५ ख ३४५१ नम्बरको ट्रकले ना.५१ प ४९४१ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ घुसुकपुर बस्ने ३५ वर्षीय उमेश राय यादवको घटनास्थलमै मृत्यु भएको छ । सोही विषयलाई लिएर स्थानीय बासिन्दाले ढुङ्गामुढा गर्दा घाइते भएका ट्रक चालकको विजयपुरस्थित नेशनल हस्पिटल हुँदै नेशनल मेडिकल कलेज वीरगंजमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।
धनुषा, धनुषाधाम नगरपालिका-६ मालटोलस्थित सडकमा बागमती प्रदेश ०१-०२७ च ०३८९ नम्बरको पिकअप गाडीको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर गाइते भएक उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका-६ निगाली चोकमा लु.२७ प २९०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-९ रामापुर बस्ने ५० वर्षीय कन्हैया यादवको शुक्रबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-९ घुमाउने डाँडास्थित सडकमा ना.८ ख ३७६ नम्बरको ट्याङकरले बा.प्र.०२-०३१ प ५९७६ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बासखर्क बस्ने २७ वर्षीय समिर तामाङ र मोटरसाइकलमा सवार मेलम्ची नगरपालिका-११ जरायोटार पाण्डेगाउँ बस्ने २७ वर्षीय नबिन पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएक उनीहरूको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु
मोरङ, ग्रामथान गाउँपालिका-२ स्थित माछा पोखरीमा डुबेर सोही गाउँपालिका-२ खुनियाकट्टा बस्ने घनश्याम माझिकी छोरी १२ वर्षीया समिक्षा माझि र मनोज खवासको छोरी १० वर्षीया रेजिना खवासको शनिबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बागलुङ, ढोरपाटन नगरपालिका-८ बोवाङ बस्ने नैना कुमारी बिकको छोरा ३ वर्षीय संघर्ष बिकको सोही नगरपालिका-७ नौथरगाउँस्थित बोवाङ स्वास्थ्य चौकीको खानेपानीको ट्यांकीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
बुढिगंगा गाउँपालिका-६ तिलाठी बस्ने १९ वर्षीय अजित चौधरीको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित मोदा खोलामा विद्युतको पोलबाट तार तानेर करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीमा परी तीन जनाको मृत्यु
सल्यान, त्रिबेणी गाउँपालिका-२ धामिढुङ्गा बस्ने ३२ वर्षीया रेवती थापा र उनकै ९ महिनाकी छोरी ऋतु थापाको आगलागीमा परी शनिबार बिहान मृत्यु भएको छ । चुलोको आगोबाट सुतिरहेको बिस्तारामा आगो सल्किन गई जलेर उनीहरूको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी काभ्रा र ईलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
मोरङ, ग्रामथान गाउँपालिका-४ मोतिपुर बस्ने ४५ वर्षीया भेडियन देवी माझीको आगलागीमा परी शनिबार बिहान मृत्यु भएको छ । आफ्नै भान्साघरमा चुलोमा भात पकाउने क्रममा जलेर गम्भीर घाइते भएकी उनको आर्या न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं महानगरपालिका-३२ तिनकुनेस्थित दिव्य स:मिलमा रहेको टहरोमा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकै श्रीमती ५० वर्षीया अम्बिका भुजेल, हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला र मोरङ बेलवारी घर भएका २० वर्षीय नविन राई शुक्रबार राति मृत अवस्थामा फेला परेका छन् । टाउको तथा शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट भएको अवस्थामा उनीहरूको शव फेला परेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र केनाईन महाशाखाबाट समेत खटिएको टोलीले घटनाको आवश्यक सोधपुछको लागि १ जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-९ तिलगंगा निलोपुल नजिकै पाल टाँगेर बसेको हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष उक्त पालभित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
बाँके, बैजनाथ गाउँपालिका-२ पितमारी बस्ने ५० वर्षीया नानकली कठायत सोही गाउँपालिका-२ पितमारी भित्री बाटोको छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुर, थाहा नगरपालिका-९ टाँकाटार बस्ने ५६ वर्षीय रामभक्त बस्नेत आफ्नै नजिक रहेको बारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी मकवानपुर, भिमफेदी गाउँपालिका-८ माण्डुस्थित बागमतीखोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
ईलाम, रोङ गाउँपालिका-६ रम्याङ बस्ने ५५ वर्षीय गुमान सिंह राई सोही गाउँपालिका-६ जिर्मले सलकपुर ढाँडेहाँसेस्थित बाटो छेउमा शनिबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बिहान घरबाट खेतीको काम गर्न भनि हिँडेको उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । यसैगरी ईलाम, ईलाम नगरपालिका-९ पुवाजुङ बस्ने ५३ वर्षीय रविन राई सोही ठाउँस्थित सिचाई कुलोमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
उदयपुर, चौदण्डीगढी नगरपालिका-५ सिवाहीस्थित खेतको आलीमा सोही ठाउँ बस्ने ६८ वर्षीय डाकुरनाथ सुबेदी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
बागलुङ, बागलुङ नगरपालिका-९ बस्ने ६३ वर्षीय देव बहादुर खत्री सोही ठाउँस्थित ओख्रेनी सामुदायिक जङ्गलमा शनिबार मृत अवस्थामा फेला परेका छन् । कोही कसैलाई जानकारी नगराई शुक्रबार बिहान घरबाट हिँडेको उनी घर नफर्किएपछि खोजी गर्ने क्रमम शव फेला परेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-५ हाटबजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नगद तथा सुनका विभिन्न गरगहना चोरी
कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोक डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची गाउँपालिका-४ घर भएकी ३५ वर्षीया निता लामिछानेको कोठामा कोही नभएको अवस्थामा ताल्चा फुटाई नगद तथा सुनका विभिन्न गगहना गरी करिब ४ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।










