सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा सुनुवाइका लागि न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको छ । उनको अन्तिम मुद्दाको सुनुवाइका लागि न्यायाधीश पण्डितको इजलासमा भने पहिलोपटक पेसी चढेको हो ।
यसअघि पटकपटक पेसी चढे पनि यो मुद्दामा अन्तिम सुनुवाइ हुन सकेको थिएन् । आइतबार पाँचौं नम्बरमा पेसी तोकिएको छ। आज सुनुवाइ भए पनि आजै फैसला आउने सम्भावना भने कम छ ।
एसिया कप खेल्न उनलाई आइतबार राति नै नभए सोमबारबाट पाकिस्तान पठाउने गरी क्यानले तयारी गरिरहेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए । न्यायाधीशले हेर्दाहेर्दैमा राखेर सुनुवाइ नगरे पुनः अर्को पेसी तोकिने छ। आइतबार मुद्दाको सुनुवाइ सुरु भएर हेर्दाहेर्दैमा राख्ने सम्भावना पनि हुन्छ। यसो भएमा भने सन्दीप लामिछाने तत्काल पाकिस्तान जान पाउने छैनन् ।
यदि फैसला भएर दोषी ठहर भएमा भने सन्दीप एसियाकप खेल्न जान पाउने छैनन् ।
सन्दीपका कानुन व्यवसायीले यसअघि नै सन्दीपलाई पाकिस्तान पठाउने तयारी गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई जानकारी गराइसकेका छन् ।
यसअघि साउन ३२ गते न्यायाधीश राजकुमार खतिवडाको इजलासले सन्दीपविरुद्ध जाहेरी दिने किशोरीकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको थियो। अदालतमा पेस गरिएको आमाको उमेर विवादित देखिएपछि अदालतले थप प्रमाण बुझ्न भनेको थियो ।
उनको उमेर प्रमाणित हुने कागजात अदालतमा पेस भइसकेको छ। अन्तिम सुनुवाइका लागि मुद्दा पटकपटक पेसी चढाइएको छ । तर फैसलाका लागि बहस हुन सकेको छैन। जिल्ला अदालतमा यो मुद्दा २६औं पटक पेसीमा चढेको हो ।
सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। प्रहरीले सन्दीपलाई पक्राउ गरेर अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिल कार्यालयले २०७९ कात्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
थुनछेक बहसपछि जिल्ला अदलातले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा निवेदन दिए । उच्च अदालतले सन्दीपलाई धरौटीमा रिहा गर्ने आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो। तर सर्वोच्च अदालतले उच्चको अरु आदेश सदर गर्दै विदेश जान लगाइएको प्रतिबन्ध हटाएको थियो ।








