मकालु रिभ्यु

कट्मिरो ‘जुलेबी’

कुनै फल पाक्नुभन्दा पहिला कट्मिरो हुन्छ । 

जुलेबी फिल्म कट्मिरो मात्र छ । 

यसको कथा र चरित्रमा पाक्ने बलियो सम्भावना थियो । त्यसलाई बोटैमा पाक्न दिनु थियो । 

लेखक तथा निर्देशक गणेश देव पाण्डेले यो फिल्मलाई कट्मिरोमै टिपेका छन् । 

फिल्मको सुरुवात बलियो नै थियो थियो । आर्मी लाग्न लागेको एक युवक थियो । उसलाई मनपराउने स्कुल पढ्ने युवती । दुई जनाको नौजवान प्रेम । उनीहरूको प्रेम सुरु हुने संयोग पनि उस्तै मिठो । युवक फुटबल खेल्दै हुन्छ । उसले हानेको फुटबल आएर युवतीको साइकलमा लाग्छ । युवक उनलाई ख्याल गर्दैन, आएर बल लिएर फर्किन्छ । युवती उसलाई ख्याल गर्छे । 

कति ताजा । 

उनीहरूको यौवनको पहिलो छुवाइ । नयाँ उमेरको कौतुहलता सबै महसुस हुने गरी आएको थियो । 

अनि सानो चरित्रमार्फत पनि ठुलो कुरा देखाउने अवसर उनले नछोडेका । ती दुई बिचमा भइरहेको प्रेमिल दृश्यलाई झ्यालबाट लुकेर हेरिरहेकी युवतीकी साथीको अनुहारमा देखिएको अतृप्त इच्छा पनि कति स्वाभाविक । 

पहिलो कथामा पाण्डे धेरै स्पष्ट देखिन्छन् । भलै त्यसमा पनि चरित्रको विकासक्रमका केही अवरोध छन् । विशेष अँगालो मारिरहेको बेलामा मान्छेले देखेपछि युवती जति डराउँछे युवक उति डराउन्न, तर ती दुई को कथामा कम्तीमा पनि उनीहरूको ब्याक स्टोरी बलियो नै थियो । उद्देश्य पनि थियो । 

आर्मी बन्छु भनेको युवक आर्मी बन्ने भनेर नै भागेको थियो ।

तर जसै कथा सहर छिर्छ, केही बलिया दृश्यहरूको बाबजुद गाउँको दृश्यमा भएको जति बलियो परिस्थिति फिल्मले भेट्टाउँदैन । यहाँका चरित्रहरूको ब्याकस्टोरीले उनीहरूको कथासँग जोडिने बलियो माध्यम बनाउँदैन ।

यस्तो लाग्छ फिल्मको पहिलो कथा लेखक र निर्देशक आफ्नै लागि त्यस्तो चुनौती थियो थियो जसलाई बाँकी फिल्मभर उनी आफैँ पनि भेट्दैनन् ।

केही चरित्र र दृश्य पक्कै पनि बलिया छन् । सहरको छापाखानामा काम गर्ने एक युवक छ । उसको काम ठ्याक्कै के हो भन्ने उति सारो प्रस्ट नभएपनि केही दृश्य बलिया छन् । उसले कतै पठाउने सामाग्रीमा छाप हान्नु छ । त्यो छाप हान्दाको बिट र माथि रहेको घडीको बिट मिल्छ ।

उ समयसँग त्यस्तरी बाँधिएको छ । उ समयको सेकेन्ड सुई सँग त्यस्तरी बाँधिएको छ ।

त्यस्तै अर्को एउटा दृश्यमा रत्नपार्कको एकान्तमा उभिएकी यौनकर्मी छन् । पृष्ठभूमिमा घण्टाघरले घण्टी हान्छ । उनी कति राती त्यहाँ बसेकी छन् भन्ने कुरा त्यसले नै बताउँछ ।

एक महिला छन् जसलाई आफ्नो हराएको श्रीमानको खोजी छ । अर्को युवक छन् जसलाई न्युड फोटोग्राफी गर्नु छ ।

ती भेट हुन्छन् । छुट्छन् । रत्नपार्क यसै पनि संयोगको ठाउँ हो । तीनको भेट त्यतै हुन्छ ।

तर त्यहाँका हरेक भेटमा ती चरित्रका प्राइभेट मोमेन्टहरू भने अझै भएको भए हुन्थ्यो जस्तो लाग्छ । ती जति आएका छन् तीनमा पनि केही त छ तर तीनको जीवनको उद्देश्य अनि त्यसलाई पाउन तीनले गर्ने प्रयास अझै कसिला भइदिए हुन्थ्यो जस्तो लाग्छ ।

यौनकर्मी महिला विदेश जान चाहन्छिन् । उनी दलाललाई पैसा बुझाउँछिन् । बाँकी पैसा कमाउनुपर्ने पनि छ । तर त्यो बोझ पैसा बुझाएर फर्किएकी उनमा धेरै महसुस हुँदैन । उनको चरित्रले ‘ला उनी जान पाउँछिन् कि पाउँदिनन्’ भन्ने बनाउँदैन ।

श्रीमान् बेपत्ता पारिएकी युवतीको पनि उस्तै समस्या छ । उनी बेलाबेला बेपत्ता मानिसहरूको खोजी गर्नुपर्‍यो भनेर गरिएको कार्यक्रममा जान्छिन् । एउटा पम्प्लेट बोक्छिन् । त्यो पम्प्लेट त उनी अरूबेला पनि बोकिरहेकी हुन्छिन् । तर उनको भित्री कुरा थाहा नभएको कारण ती सबै कुरा फिक्का देखिन्छन् ।

न त उनी त्यो कार्यक्रममा पुगेजस्तो महसुस हुन्छ । न उनको कुनै मुद्दासँग सहानुभूति बढ्छ । उनीप्रति सहानुभूति पनि आउँदैन । उनले त्यति लामो समयदेखि बोकेकी भए पनि उनको र पम्प्लेटसँगको कुनै पनि सम्बन्ध पर्दासम्म आइपुग्दैन ।

बरू उनले ‘मसँग अँगालो मारेर एक रात सुत्न सक्नुहुन्छ’ भनेको कुराले उनको एक्लोपनालाई संकेत गरेको छ ।

उनीसँग भेटिने फोटोग्राफर युवकको चरित्र त झन् कमजोर लेखिएको छ । उ न्युड फोटोग्राफी गर्न चाहन्छ । तर किन प्रयोजन कतै खुल्दैन । उ भन्छ ‘सोखको लागि’ । तर त्यो सोख के हो कतै पनि भेटिन्न ।

उसको चरित्र स्थापित गर्छ न्युड आर्ट एक्जिबिसनमा पुगेको छ देखाइएको छ । त्यहाँ उसले आर्टिस्टसँग गरेको संवाद बनावटी लाग्छ । उ सोध्छ ‘तपाईँको लागि मानव शरीर के हो ?’

आर्टिस्ट जवाफ दिन्छन् ‘यो एक सुन्दर ल्याण्डस्केप हो ।’ यति मात्र । 

एउटा मान्छेलाई बिना कुनै उद्देश्य कुनै काम गर्न उद्देश्यसहित गर्न भन्दा ठुलो कारण चाहिन्छ भन्ने कुरा फिल्मले बिर्सिन्छ । उसको त्यो उद्देश्य स्थापित नहुँदा उसले उनको न्युड फोटोसुट गरेको सुन्दर दृश्य पनि पुग्नुपर्ने जति महत्त्वपूर्ण लाग्दैन । उसको लागि त्यसरी फोटो खिच्नु के हो, अनि उनको लागि त्यसरी खुल्नु के हो ले पाउनुपर्ने जति उचाइ पाउँदैन । 

यदि त्यस्तो भएको भए उसले ती महिलाको कपडा खोजेको दृश्य अझै शक्तिशाली बन्न सक्ने थियो । उसले बेलाबेला क्यामेरा चलाउँदा उसले खिच्न खोज्ने चिज सजिलै थाहा हुने थियो । 

उसले पहिला गरेका अरू फोटोहरू नै कुनै देख्न पाएको भए पनि हुन्थ्यो । त्यो नहुँदा फिल्मको सबैभन्दा महत्त्वपूर्ण मध्येको एउटा दृश्य ठुलो प्रभावबिना नै हराएको छ । 

यौनकर्मीको चरित्र विकासमा पनि उस्तै समस्या छ । उनको उद्देश्य यो रहेछ भन्ने पनि थाहा हुन्छ । तर उनको कुनै पनि सेटिङसँग कतै पनि पुगिन्न । उनको चरित्रसँग निकट पुग्ने माध्यम कम नै भेटिन्छ ।  

तर कथा र चरित्र विकासमा मध्यम काम गरेको भए पनि फिल्मले औसत नेपाली फिल्महरूले दोहोर्‍याइरहने केही कुराहरू भने दोहोर्‍याएको छैन । सबैभन्दा मुख्य कुरा चरित्रहरूले केही हदसम्म भए पनि एक अर्कालाई सुनेका छन् । संवादहरू बनावटी लेखिएका छैनन् । बोलाई पनि त्यस्तो धेरै बनावटी लाग्दैन । 

निर्देशकले आफ्नो कलाकारसँग काम निकाल्ने क्षमता देखाएका छन् । अनि सँगै रत्नपार्कमा खिचिएका दृश्यहरू महत्त्वपूर्ण पनि छन् । एउटा दृश्यमा यौनकर्मी युवतीलाई देखेर निलो ट्याम्पो चढेर हिँडेको युवकको अनुहारलाई सजेसन राखेर युवतीलाई देखाइएको दृश्य ले उसको मनमा बढिरहेको युवतीप्रतिको आकर्षणलाई बोकिराखेको छ । 

यस्तै कथाको सीमित दायराभित्र पनि कलाकारहरूले काम निकालेका छन् । उनीहरूले आफ्नो आँखा र हाउभाउमा काम गरेका छन् । श्रीमान् खोज्ने महिलाको हिँडाइ अनि युवकसँग नजिकिँदाको आँखाको भाव नोटिस हुन्छ । 

प्रेसमा काम गर्ने चरित्रले नियमितजस्तो मालिकसँग पैसा माग्छ । उसले पैसा माग्दाको उसको लाचारी उसको अनुहारमा देखिन्छ । त्यसले एक हिसाबले सानो काम गर्ने मानिसहरूको पीडा समेटेको छ । 

एउटा दृश्यमा यौनकर्मी उनलाई जाने हो भन्छिन् । पैसा मिलाइदिन्छु भन्छिन् । तर उ आफू भोको भएको सुनाउँछ । त्यो दृश्य सुन्दर छ । 

चरित्रसँग पुरै छिर्न नपाए पनि उनीहरूको प्रस्तुति भने फिल्म हलबाट निस्किँदासम्म बोकिरहिन्छ ।

तर धेरै ठाउँमा भने लेखक निर्देशकले चरित्रहरूको भावनात्मक कन्टिन्युटिलाई भने छुटाएका छन् । कुनै घटना भए पनि त्यो घटनाको प्रभाव उसको अनुहारमा कसरी आउँछ भन्ने छुट्दा चरित्रको विकासक्रमसँग डोरिन गाह्रो पर्छ । 

जस्तो कि बाबुले आर्मी बन्नु छ त्यसैले केटीको चक्करमा नपर्नु भनेको कुराको असर सार्वजनिक ठाउँमा केटीसँग निकट भएको युवकको अनुहारमा देखिन्छ । त्यसपछि पनि उ उसलाई भेट्न घरमा जान खोजिरहन्छ । तर पनि उसको त्यो थ्रेट महसुस हुँदैन । 

बरु इमोसनको कन्टिन्युटि छापाका काम गर्ने युवकले यौनकर्मीलाई अरू मानिससँग देखेको बेलाका ईर्ष्यासँग थोरै भए पनि भेटिन्छ । 

तर फिल्म हेर्दै गर्दा सबैभन्दा ठुलो सन्तुष्टि चाहिँ निर्देशकले ल्याइपुर्‍याएका केही काम हुन् । विशेषतः पछिल्ला दुई वटा कथा भन्दाको ट्रान्जिसन सुन्दर छ । दुई कथा एक अर्कामा जोडिएका त छैनन् तर तीनको सेटिङ एक ठाउँमा भएकाले पनि दिउँसो र रातीको समय महसुस हुन्छ । पहिलो कथालाई फिल्मको अन्तिमतिर फेरी ल्याएको उति धेरै महत्त्वपूर्ण देखिन्छ । त्यसलाई उनले यौनकर्मीसँग जोडेको दृश्य पनि फितलो नै लाग्छ । 

तर उनले सेटिङलाई मुख्य चरित्र बनाएर त्यसको वरपर चरित्रहरू घुमाएको प्रयोग ताजा छ । यसले पक्कै पनि सेटिङको वरपर फिल्म उन्ने अरू प्रयासहरूलाई बाटो बनाउने छ । 

श्रीमानसँग झगडा गरेर रत्नपार्कमा उत्रिएकी महिलाले ‘यो ठाउँ कहाँ हो ?’ भनेर सोधेको संवादले पक्कै पनि उच्च वर्गले भुल्दै गरेको रत्नपार्क वरपर घुम्ने चरित्रहरूको यथार्थलाई एक हिसाबले व्यङ्ग गरेको छ । 

यो फिल्म त पाण्डेले कट्मेरोमा नै टिपे ।

मलाई उनले मज्जाले बोटैमा पाक्न दिएको फिल्म हेर्न मन छ । 

ट्रेलर हेर्ने लिंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *