मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले आइतबार इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसनका लागि सम्पर्क गर्न आह्वान गरेका छन् ।

प्रमुख नारी पात्रको भूमिकामा परिवेश सुहाउँदो र एक पुरुष कलाकार आवश्यक परेकोले अडिसनबाट नै छनोट गर्न लागेको निर्देशक सेनले बताए । सेनले महिला पात्रको लागि अन्दाजी २१ देखि ३२ वर्ष उमेर समूहकी मधेसी संस्कृति र सौन्दर्य झल्काउन सक्ने लुक्स भएकी, साहस र कुटिलता झल्किने हाउभाउ र चालढाल भएकी तथा एक्सन प्रधान भूमिका निर्वाह गर्न सक्ने कलाकारको खोजी भएको बताए । त्यस्तै, पुरुष पात्रको लागि अन्दाजी २८ देखि ५५ वर्ष उमेर समूहको कलाकारको खोजी भएको जनाए ।

अडिसनमा सहभागी हुन महिला कलाकारसँग मोटरबाइक हाँक्न सक्ने र मार्सल आर्टको सिप हुनुपर्नेछ भने पुरुष र महिला दुवै कलाकारले नेपाली भाषामा मैथिली उच्चारणसहित संवाद बोल्न सक्नुपर्नेछ । पूर्वी नेपालका इटहरी, विराटनगर र जनकपुर क्षेत्रका कलाकारले प्राथमिकता पाउने जनाइएको छ । आवेदन दिने अन्तिम मिति २०८१ वैशाख मसान्तलाई तोकिएको छ ।

अडिसनमा सहभागी हुन आसुसेन फिल्मसको आधिकारिक इमेल ठेगाना [email protected] मा र ह्वाट्सएप मेसेन्जर नम्बर 9811840082  मा सन्देश मार्फत सम्पर्क गर्न सकिने छ ।

‘बलिदान’ को प्रमुख भूमिकाबाट समीर भट्टले डेब्यु गर्दैछन् । यस चलचित्रमा यसअघि अभिनेता द्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसकेका छन् । सबै स्टार कलाकारहरूको अभिनय रहने यस चलचित्रलाई लिएर ठुलो अपेक्षा गरिएको छ । सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’ को टिजर छायाङ्कन अगावै रिलिज भई व्यापक चर्चामा रहेको छ ।

यसै वर्ष रिलिज हुने ‘बलिदान’ को हाल पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । शनिवार सेट तयार गरिने विभिन्न स्थानहरूमा भूमि पुजा गरिएको थियो । यसको छायाङ्कन करिब ६० प्रतिशत स्टुडियोमा नै छायाङ्कन हुँदैछ ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताएका छन् । यो चलचित्रलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।

आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *