सरकारले युवा नीति परिमार्जन गर्दैछ : मन्त्री लिम्बू

काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले युवा नीति परिमार्जनका लागि काम अगाडि बढाइरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माईतीघरबाट शुरु भएको युवा पदयात्रामा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय युवा परिषद्को माध्यमबाट सरकारले युवा नीति परिमार्जन गर्न लागेको बताए । उनले युवाहरुलाई कसरी बढी भन्दा बढी स्थान र भुमिका दिने भन्नेबारेमा नीति तयार भइरहेको र नीतिमा आवश्यक पर्ने सुझावहरु दिनका लागि युवाहरुलाई आह्वान गरे । उनले युवाहरुलाई देशको नेतृत्व गर्नका लागि तयार हुनपनि आह्वान गरेका छन् । मन्त्री लिम्बूले आफूलाई समयानकुल परिवर्तन गरी सबैलाई एकत्रित बनाइ देश विकास र देश निर्माणको संक्ल्प गर्न आग्रह गरे । देशमा परिवर्तन, विकास, रोजगारी सिर्जना समयमा नै हुन नसकेको स्वीकार उनले गरे ।

उनले भने, ‘राष्ट्रिय युवा परिषद्को माध्यमबाट युवा नीति परिमार्जन गर्नेकुरामा अघि बढेका छौँ । युवाहरुलाई कसरी स्थान दिने भन्नेमा मन्त्रालय अघि बढेको छ । युवाहरुले आगामी दिनमा अब यो देश हाँक्ने, यो देशको नेतृत्व गर्ने कुरा अब युवाहरुको काँधमा छ । त्यसैले समयानुकुल आफूलाई परिवर्तन गर्दे देश हाँक्न अब तयार हुनुस् । सबैलाई एकत्रित गरी देश विकासमा, देश निर्माणमा लगाउने संकल्पसहित अघि बढ्नुपर्छ । युवाबाट जुन असन्तुष्टि व्यक्त भइरहेको छन्, त्यो जति चाँडो मात्रामा देशमा परिवर्तन, विकास, रोजगारी सिर्जना हुनुपर्दथ्यो, त्यो हुन सकेन, त्यसका लागि चाँडो सरकारले काम गरोस् भन्ने जुन युवाहरुको आवाज छ, त्यसलाई म सम्बोधन गर्न चाहन्छु । हामी सबै मिलेर देशको विकास गर्न सक्छौँ । यो मुलुकमा धेरै राजनीतिक परिवर्तन भइसके तर जनताको आधारभुत आवश्यकता परिवर्तन हुन सकेन भन्ने जुन गुनासो छ, त्यसलाई सरकारले सम्बोधन गर्ने प्रयास गरिरहेको छ ।’

मन्त्री लिम्बूले देश विकासका लागि साझा धारणा बनाएर अघि बढ्न आवश्यक रहेको भन्दै दिगो विकास लक्ष्य प्राप्तिका निमित्त जस्तोसुकै कठिन परिस्थितमा पनि मिलेर अघि बढ्न जरुरी देखिएको बताए । यस वर्ष ‘कौशल युवा, दिगो विकासका लागि’भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *