आफ्नो दायित्व पूरा गर्नबाट राज्य पन्छिन मिल्दैन : मन्त्री धनराज गुरुङ (भिडिओ)

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राज्यले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने दायित्वबाट कुनैपनि बेलामा पन्छिन नमिल्ने बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय आदिवासी, जनजाति दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आदिवासी जनजाति आयोगले कार्ययोजनाहरु बनाउनुपर्ने र त्यसको कार्यान्वयनका लागि सरकारले काम गर्ने बताए । उनले वर्तमान सरकार राज्यको भूमिका निर्वाह गर्ने कुनैपनि कुराबाट नपन्छिने बताए । आदिवासी जनजातिसँगै बसेर आदिवासी जनजातिका हकहितसम्बन्धी कानून निर्माण र कार्यान्वयन गर्ने पक्षमा सरकारले सँगै रहेर काम गर्ने उनको भनाई छ ।
उनले भने, ‘आदिवासी जनजाति आयोगले विशेष ढंगबाट आफ्नो कार्यदिशाहरू निर्माण गर्दै, कार्ययोजनाहरु बनाउँदै, त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा सरकारको पूरा सहयोग रहनेछ । आगामी दिनमा नेपाल सरकारको तर्फबाट हामी र तपाईँहरू सबै सँगै बसेर आदिवासी जनजातिका सन्दर्भमा आगामी दिनमा गर्नुपर्ने कार्यलाई सँगै बसेर छलफल गरेर अघि बढाउनेछौँ । कसले गर्छ, गर्दैन भनेर छुट्याउने भन्दा पनि हामी सबै एकै ठाउँमा उभिएका छौँ । सँगै बसेर अघि बढ्न चाहन्छौँ । आफ्नो राज्यभित्र रहेका आदिवासी जनजातिहरूका लागि राज्यले आफ्नो सम्पूर्ण भूमिका निर्वाह गर्नुपर्ने दायित्वबाट पन्छिन कहिले पनि मिल्दैन । अहिलेको सरकार त्यो ठाउँबाट पन्छिँदैन ।’
मन्त्री गुरुङले देशमा विविध संस्कृति, भाषाले आदिवासीलाई एउटा सुन्दर फूलबारी बनाइदिएको भन्दै यसलाई जोगाएर राख्न सक्नुपर्ने बताए ।








